कोपा अमेरिका २०२१ को पहिलो सेमिफाइनलमा मंगलबार विहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ।
साविक विजेता ब्राजिल र पेरूबीचको खेल रियो दि जेनेरियोमा विहान ४:४५ बजे सुरू हुनेछ।
कोपा अमेरिका २०२१ मा ब्राजिल र पेरूबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो।
Advertisement
ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।
पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्।
नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन्। फ्रेड र कासेमिरो मिडफिल्डेनमा हुनेछन्।
एथ्लेटिको म्याड्रिडका डिफेन्डर फिलिप घाइते भएका कारण पेरूविरुद्ध खेल्नेछैनन्।
पेरुका विंगर आन्द्रे करिल्लो पनि रातो कार्डका कारण ब्राजिलविरुद्ध खेल्नेछैनन्।
ब्राजिल पछिल्लो ११ खेलमा अपराजित छ। सन् २०२० र २०२१ खेलेका आठ खेलमा ब्राजिलले गोल खाएको छैन।
पेरुले पछिल्लो पटक सन् १९९५ मा कोपाको उपाधि जितेको थियो। सन् २०१९ को फाइनलमा पुगेको पेरू उपाधि भिडन्तमा ब्राजिलसँग पराजित भएको थियो।