२०८१ मंसिर २

नेपालसँग ओलीले विपक्षी गठबन्धन छोडेर आफूलाई सहयोग गर्न भने, जेठ २ मा फर्किने कुरै गरेनन्

नेकपा एमालेकाअध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ। उनीहरूको भेटअघि पार्टीभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदल ब्युँताएर दोस्रो तहका नेताबीच लगातार तीन दिन छलफल भएको थियो। समस्याबारे कार्यदलमा विस्तृत छलफलप भएपछि ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो।

भेटवार्तामा दुबै नेताले आ-आफ्नो अडान नछोडेकाले कुनै ठोस सहमति हुन नसकेको स्रोतले जानकारी दियो।


Advertisement


भेटमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाललाई विपक्षी गठबन्धन छोडेर आफूलाई निःशर्त सहयोग गर्न भनेका थिए। उनले  पार्टीलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने विषयमा कुनै प्रस्ताव नराखेपछि नेता नेपाल सहमत नभएको स्रोतले बतायो।

‘तपाईंहरू विपक्षी गठबन्धनमा लाग्नुभयो। त्यसलाई छोड्नुपर्छ। विपक्षी गठबन्धनले मलाई अप्ठेरोमा पारिरहेको छ। त्यसलाई छोडेर मलाई सहयोग गर्नुहोस्। म अप्ठेरोमा छु’, ओलीले नेपाललाई भनेका थिए। 

भेटमा ओलीले जेठ २ को वरिपरि कसरी जाने भन्ने विषयमा कुरै नगरेको स्रोतले दाबी गर्‍यो।

जवाफमा नेपालले पार्टीलाई मिलाएर अगाडि बढाउनुका साथै राष्ट्रिय समस्याको सबै मिलेर समाधान खोज्नुपर्ने बताएका थिए।

‘पार्टी मिलाएर अगाडि बढ्नुपर्छ। अहिलेका जति पनि राष्ट्रिय समस्या छन्, ती सबैको मिलेर समाधान गर्नुपर्छ। अरूलाई दोष दिएरमात्र हुन्न। त्यसका लागि हामी सबै मिलेर अगाडि बढ्नुपर्छ’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

ओलीले भने नेपालसँग विपक्षीलाई सहयोग गर्न दिएको हस्ताक्षर फिर्ता लिनमात्र आग्रह गरेको स्रोतको दाबी छ।

‘उहाँले निःशर्त सहयोग गनुपर्छ जस्तो कुरा गर्नुभयो। हामीले उठाउँदै आएका मुद्दामा सहमतिको कुरै गर्नुभएन। त्यसो भएपछि माधव नेपालले पनि मान्नुभएन’, नेपालनिकट स्रोतले भन्यो।

विवाद समाधान कार्यदलमा रहेका नेता नेपालनिकट एक सदस्यले आफूहरू सहमति नजिक पुगेको भए पनि ओली-नेपाल वार्ताले त्यसलाई निष्कर्षमा पुर्‍याउन नसकेको बताए। 

‘हामीले २ जेठ, सर्वोच्चको मुद्दामा केन्द्रीत भएर कुरा उठाएका थियौं र सहमतिनजिक पनि पुगेका थियौं’ ती सदस्यले भने, ‘उहाँहरूले दुई नेता भेटौं, जे गरेर भए पनि सहमति हुन्छ भन्नुभएको थियो। भेट पनि भयो तर सहमति जुटेन।’

ओली र नेपालबीच एक्लाएक्लै भेटवार्ता हुँदा दुबै पक्षका दोस्रो तहका नेताहरू पनि होटल मेरियटमा पुगेका थिए। ओलीनिकट ईश्वर पोखरेल र विष्णु पौडेल र नेपालनिकट भीम रावल र सुरेन्द्र पाण्डे होटलमा थिए।‍

पोखरेलले ओली-नेपालबीच सकारात्मक ढंगले कुराकानी भएको उल्लेख गर्दै भोलि कार्यदलको बैठक बसेर बाँकी कुरा टुंग्याउने बताए। 

‘आजको वार्ता सकारात्मक दिशामा अगाडि बढ्यो, कुराकानी भयो। केही छलफल भएका छन्। छलफललाई यसपछि पनि निरन्तरता दिने भन्ने कुरा भएको छ’, पोखरेलले भने, ‘भोलि के हुन्छ त्यो कुरा भोलि नै थाहा हुन्छ। तर सकारात्मक निष्कर्षमा पुर्‍याउने भन्नेछ। यस बीचका जति पनि कुराहरू भएका छन्। त्यसलाई पुनः मूल्याङ्कन गर्दै अगाडि बढ्ने भन्नेछ।’

‍कार्यदल सदस्यसमेत रहेका नेपालनिकट नेता पाण्डेले भोलि विहान ११ बजे फेरि बैठक बस्ने बताए। 

‘हामी यहाँ आए पनि उहाँहरूबीच वान टु वान वार्ता भयो। वार्ता सकारात्मक छ। सहमति भइसकेको छैन,’ पाण्डेले भने, ‘भोलि बिहान ११ बजे कार्यदलको बैठक बसेर पुनः सहमतिको प्रयास गर्ने कुरा भएको छ।’

होटलमा उपस्थित नेता सुवास नेम्वाङले पार्टीभित्रको विवाद समाधान कसरी गर्ने भन्ने विषयमा पार्टी शीर्ष नेताहरूबीच भएको कुराकानी सकारात्मक रहेको प्रतिक्रिया दिए।

‘शीर्ष नेताबीच एकतालाई कसरी अगाडि बढाउने, सकारात्मक परिणाममा कसरी लैजाने भन्ने विषयमा छलफल भयो,’ नेम्वाङले भने, ‘भोलि बिहान ११ बजे कार्यदलको बैठक बसेर पुनः यस सम्बन्धमा कुराकानी हुनेछ। विभिन्न समस्यामा गम्भीर कुराकानी गर्नुपर्नेछ। कार्यदलमा पनि छलफल जारी छ। अझै मिलाउने प्रयासमा छौं। मिलिसकेको छैन।’

विवाद समाधान कार्यदलमा नेपालका पक्षका संयोजकसमेत रहेका उपाध्यक्ष भीम रावलले एकतालाई कसरी अघि बढाउने भन्नेबारे दुई नेताबीच छलफल भएको बताए।

‘कार्यदलमा हाम्रो छलफल जारी छ, आज शीर्ष नेताहरूको बीचमा पनि वार्ता भएको छ। अब फेरि हामीले विषयमा प्रवेश गरेर कुराकानी गर्नेछौं, नेताहरूको बीचमा पनि कुरानकानी हुनेछ। यसको उद्देश्य भनेको समस्या समाधान गर्न सहमतिमा पुग्ने हो,’ रावलले भने।

Copy link
Powered by Social Snap