स्पेनिस क्लब बार्सिलोनाका पूर्वसहकर्मी लिओनल मेसी र नेइमार आइतबार विहान एकअर्काविरुद्ध भिड्दैछन्।
आइतबार विहान कोपा अमेरिका २०२१ को उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्दा मेसी र नेइमार पहिलो पटक मुख्य प्रतियोगिताको उपाधि उचाल्ने लक्ष्यमा छन्।
Advertisement
दुवैले आफ्नो देशका लागि मुख्य प्रतियोगिताको उपाधि उचाल्ने अवसर अहिलेसम्म पाउन सकेका छैनन्।
छ पटकका बालन डि’अर विजेता अर्जेन्टाइन फरवार्ड मेसी चौथो पटक कोपा अमेरिकाको फाइनल खेल्दैछन्। सम्भवत यो उनका लागि करिअरमा उपाधि जित्ने अन्तिम अवसर हुन सक्छ।
कोपा अमेरिका २०२१ मा मेसीले चार गोल गर्दा उतिकै पास गोलका लागि सिर्जना गरेका छन्। उत्कृष्ट लयमा देखिएका ३४ वर्षीय मेसीका लागि आगामी वर्ष कतारमा हुने विश्वकप अन्तिम विश्वकप हुन सक्छ।
मेसीले २००७, २०१५ र २०१६ को कोपाको फाइनल खेलेका थिए। तर तीनै पटक उपाधि जित्न सकेनन्।
यस्तै २०१४ को विश्वकपमा पनि अर्जेन्टिनाले फाइनलमा स्थान बनाएको थियो। उपाधि भिडन्तमा अर्जेन्टिनालाई जर्मनीले १-० गोलले पराजित गर्यो।
यो हिसाबले मेसी करिअरको पाँचौ फाइनल खेल्दैछन्। यसअघि उनले कोपाको तीन र विश्वकपको एक गरी चार फाइनल खेलिसकेका छन्।
केही मानिसहरू मेसीको बाँकी रहेको एउटै सपना देशका लागि उपाधि जित्ने रहेको विश्वास गर्छन्।
२९ वर्षीय नेइमारले पनि देशका लागि मुख्य प्रतियोगिताको उपाधि जित्ने अवसर पाएका छैनन्। सन् २०१९ मा ब्राजिलले कोपाको उपाधि जित्दा नेइमार घाइते भएका कारण टिममा थिएनन्।
दक्षिण अमेरिकन फुटबलमा पछिल्लो समय छाउने गरे पनि कोपाको सर्वाधिक उपाधि जित्ने टिम ब्राजिल र अर्जेन्टिना होइनन्।
उरूग्वेले सर्वाधिक उपाधि जित्ने क्रममा १५ पटक उपाधि उचालेको छ। अर्जेन्टिनाले १४ पटक उपाधि जित्दा ब्राजिल ९ पटक च्याम्पियन भएको छ।
जारी ४७औं संस्करणको कोपाको फाइनलमा भिड्दा ब्राजिल र अर्जेन्टिनाबीच चौथो पटक उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो।
सन् १९३७ को उपाधि भिडन्तमा अर्जेन्टिनाले ब्राजिललाई हराएको थियो। सन् २००४ र २००७ को उपाधि भिडन्तमा भने अर्जेन्टिनालाई हराउँदै ब्राजिलले उपाधि जितेको थियो।