टोकियो ओलम्पिकअन्तर्गत नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले राष्ट्रिय कीर्तिमान बनाएका छन्।
सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका हुन्।
यो स्पर्धाको राष्ट्रिय कीर्तिमान यसअघि उनकै नाममा थियो। नेपालमा भएको १३औं सागमा उनले ५४:१३ सेकेन्डको कीर्तिमान बनाएका थिए।
Advertisement
आफ्नै नामको कीर्तिमान तोडेका उनी पहिलो हिट्समा पहिलो भए। सात जना पौडिएको हिड्समा कोसोभोका खेलाडी दोस्रो भए। प्यालेस्टाइनका खेलाडी तेस्रो, गुएनाका चौथो, भुटानका पाँचौ, माल्दिभ्सका सातौ र सोलोमन आइल्यान्डका खेलाडी सातौं भए।
समग्रमा ५९औं भएसँगै उनी पहिलो चरणबाटै बाहिरिए। यो स्पर्धामा कुल ७० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धाका शीर्ष १६ खेलाडी सेमिफाइनल पुगेका छन्।
Despite being 1st in his Heat, and beating the National Record of 100m Freestyle with 53.41sec Alexander Shah 59th position out of 70 participants. pic.twitter.com/FadcIzHp3o— NOCNepal (Nepal Olympic Committee) (@NocNepal) July 27, 2021
पौडीकी अर्की खेलाडी गौरिका सिंहले महिला १०० सय फ्रिस्टाइलमा भोलि प्रतिस्पर्धा गर्नेछिन्।
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।
यसअघि नेपालका दुई खेलाडीले टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्।
गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।
शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्।
कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।