भत्ता माग्न जाँदा स्थानीयलाई कट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार पक्राउ गर्यो । नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्याइयो। प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाअध्यक्षको चर्को विरोध पनि भएको छ ।
जनता कुट्ने वडाअध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाअध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका छन् ।
Advertisement
वडाअध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँमा बुढापाखा, तन्नेरीदेखि लिएर महिलाहरु समेत मैदानमा होमिएका छन् । उनीहरुले बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । वडाध्यक्ष रिहा नभए शुक्रबारदेखि सदरमुकाममै पुगेर विरोध प्रदर्शन गर्ने तयारी गरिएको उनीहरुको भनाई छ ।
स्थानीय दिलिप शाहीले भने, ‘श्रावण १५ गते जुनीचाँदे गाउँपालिका वडा–२ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दै गर्दा स्थानीय रङ्गे दमाईको कान्छो छोरा सर्पे दमाईले जाँड सेवन गरेर वडा कार्यलयमा हो– हल्ला गर्दा वडा अध्यक्षले उनलाई बाहिर निकालेका थिए । सर्पेले जाँडको तालमा ढुङ्गा–काठहरु प्रहार गर्न थालेपछि उनीबाट बच्न खोजिएको हो ।’
उनले भने, ‘प्रत्यक्ष घटनाको छानबिन बिना नै उक्त घटनाको सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । यो हाम्रो पहिलो अभियान हो स्थिति यस्तै रहिरहेमा जिल्लाव्यापी आन्दोलन गर्छौं।’ यद्यपि, पीडित पक्षले भने ती वडा अध्यक्षविरुद्ध जाहेरी दिएको छैन । तर, भिडियोमा वडाअध्यक्ष नेपालीले डोरीले बाँधेर ती युवालाई नराम्रोसँग कुटपिट गरेको देखिन्छ ।
साभार: रातोपाटी