नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा कपिलेश्वर यादव मनोनित भएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विजयकुमार गच्छदार निकट यादवलाई नेविसंघ महामन्त्रीको जिम्मेवारी दिएका हुन् । सुनसरीका यादव यसअघि नैनसिंह महर नेतृत्वको नेविसंघको कार्यसमितिमा पनि महामन्त्री नै थिए । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन भएपछिको सहमति अनुसार यादवलाई नियुक्त गरिएको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०७६ माघ १६ गते राजीव ढुंगानाको नेतृत्वमा गठित १२७ सदस्यीय नेविसंघ तदर्थ समितिमा यसअघि सात जनालाई महामन्त्रीको जिम्मेवारी दिइएको थियो । यादवको नियुक्तिसँगै नेविसंघमा महामन्त्रीको संख्या ८ पुगेको छ । यसअघि देउवा पक्षबाट महेश्वरी कुँवर र मनोज वैद्य महामन्त्री बनेका थिए भने रामचन्द्र पौडेल समूहबाट दीपक भट्टराई, उर्मिला थपलिया र प्रभातकुमार दाहाललाई जिम्मेवारी दिएको थियो ।
Advertisement
यस्तै कृष्णप्रसाद सिटौला समूहबाट बलदेव तिमल्सिना र युवराज पाण्डे नेविसंघका महामन्त्री बनेका थिए । साथै सिटौला समूहबाट तुलसा पन्त र मुक्तिराज पौडेल नेविसंघ उपसभापतिमा छन् । देउवा पक्षले १ महामन्त्री, २ उपाध्यक्ष, २ सहमहामन्त्री, एउटा कोषाध्यक्ष र ४० जना सदस्य नियुक्त गर्न बाँकी छ ।
यस्तै पौडेल पक्षले २ उपाध्यक्ष, २ सहमहामन्त्री र ३५ सदस्यलाई जिम्मेवारी दिएको छैन । सिटौला पक्षले २ सहमहामन्त्री र ३० सदस्यलाई नेविसंघमा पठाउन बाँकी छ । १२ औं महाधिवेशन गर्ने प्रयोजनका लागि ६ महिनाको म्यान्डेटसहित गठित तदर्थ समितिले २० महिनासम्म पूर्णता पाउन सकेको छैन । दुईपटक म्याद थप गरिए पनि कमिटीको पूर्णता र महाधिवेशनको तयारी शून्य छ । काँग्रेस नेताहरुका अनुसार अब पार्टीको १४ औं महाधिवेशन अघि नेविसंघको अधिवेशन सम्भव पनि छैन ।
साभार: रातोपाटी