२०८१ आश्विन ५

त्रिवि मैदानलाई राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलको भार, मैदान अभावमै पर्याप्त अभ्यास गर्न पाउँदैनन् क्रिकेटर

नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेल हुने एक मात्र क्रिकेट मैदान कीर्तिपुस्थित त्रिवि मैदान  हो।  

सन् १९९८ देखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा थालेको यो मैदानमा अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय खेलहरू संचालन हुन्छन्। 

यो बाहेक अर्को अन्तर्राष्ट्रिय स्तरको खेल मैदान ‍हुन नसक्दा नेपाली खेलाडीहरूले चाहेजति अभ्यास गर्न सकेका छैनन्। 


Advertisement


एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशालाका कारण नेपाली खेलाडीहरुलाई विदेशमा गएर खेल्न पनि सकस परिरहेको खेलाडीहरूले नै बेलाबेला बताउने गरेका छन्। 

नेपाली खेलाडीहरूलाई सिकाउन आएका विदेशी प्रशिक्षकहरू पनि नेपालले अन्तर्राष्ट्रिय स्तरको खेल मैदान तयार पार्न सके नेपालको क्रिकेट स्तरमा उल्लेखनीय परिवर्तन हुने दाबी गरिरहेका छन्। 

अहिले नेपाल टी–२० वरियतामा विश्वमा १३ औँ स्थानमा छ भने एकदिवसीयमा १६ औँ स्थानमा छ। 

नेपालमा त्रिवि क्रिकेट मैदान बाहेकका अन्य ३ वटा मैदान भए म्याच खेलाउन, खेलाडीहरूलाई अनुभव बटुल्न र अभ्यास गर्ने कुरामा धेरै सहयोग हुने टियू क्रिकेट मैदानका क्युरेटर मधु तामाङ बताउँछन्। 

उनले एउटै क्रिकेट पिचमा खेल्दा एक-दुई वटा खेलपछि नराम्रो असर पर्ने समस्या रहेको भन्दै अन्य अन्तर्राष्ट्रिय स्तरका क्रिकेट मैदान बनाउनुपर्ने जोड दिए। 

एउटा म्याच खेलिसकेपछि एउटा मैदानमा एक महिना म्याच खेलाउन उचित नहुने बताउँदै उनले नेपालमा अन्य क्रिकेट मैदान नबन्दा खेलका लागि मैदान तयार गर्न पनि समस्या रहेको बताए। उनले एकपछि अर्को लगातार म्याच खेलाइरहँदा  त्रवि क्रिकेट मैदानलाई खेलको भार भएको बताए।

उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय मैदान यहि एउटा मात्रै भयो, यसको विकल्पमा अरु मैदान पनि छैन, यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए,  प्रतियोगिता गर्न सजिलो हुन्थ्यो, मैदानलाई भार पनि पर्दैन थियो।‘ 

उनले शनिबारदेखि सुरु हुने एभरेस्ट प्रतियोगिता (इपिएल) को लागि मैदानको तयारी लगभग सकिएको बताए।

‘१५-२० दिन अघिदेखि तयारी सुरु भयो, टी २० को लागि घाँसे मैदान फाइदाजनक हुन्छ, हामीसँग अहिले ठिक्क मिल्ने पिच छ, ब्याटिङको लागि राम्रो हुने पिच छ,’ उनले भने, ‘एउटै विकेट (पिच) मा सबै म्याच खेलाउन पनि सकिँदैन, खेलाए पिचलाई धेरै भार पर्छ, १० दिनको म्याच भए ३ वटा विकेट, ५ दिनको भए दुईवटाले पनि धान्न सकिन्छ, एउटा मात्रै पिच भए शुरुका केही म्याच राम्रो हुन्छन्, त्यसपछि बल बाउन्स हुने लगायतका समस्या देखापर्छ।’ 

Copy link
Powered by Social Snap