काठमाडौं । शिखर धवनले अविजित ८८ रन बनाएपछि पञ्जाब किंग्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ ।
Advertisement
मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका निम्त्याइको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८७ रन बनाएको थियो । १८८ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रनमात्र बनाउन सक्यो ।
आठ खेलमा पञ्जाबको यो चौथो जित हो । पञ्जाब छैटौं स्थानमा छ । चेन्नईको भने यो छैटौं हार हो । चार अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ ।
धवनले ५९ बलमा ९ चौका र २ छक्कासहित ८८ रन बनाए । भानुका राजापाक्क्षेले ४२ रन बनाए । धवन र राजापाक्क्षेले दोस्रो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए । लियाम लिभिङस्टोनले १९ र कप्तान मयांक अग्रवालले १८ रन बनाए । चेन्नईका ड्वानी ब्राभोले दुई र महीश थीकशानाले एक विकेट लिए ।
चेन्नईका लागि अम्बती रायडुले ७८ रन बनाए भने रुतुराज गाइकवाडले ३० रन बनाए । कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए । महेन्द्रसिंह धोनीले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पञ्जाबका कागिसो राबडाल र रिशी धवनले समान दुई विकेट लिए भने सन्दीप शर्मा र अश्रदीपले एक एक विकेट लिए ।
आईपीएलमा आज रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । दुबै टोलीले समान १० अंक जोडेका छन् । तर, राजस्थानले सात खेलेको छ भने बैंगलोरले आठ खेल खेलेको छ । रनरेटका आधारमा राजस्थान तेस्रो र बैंगलोर पाँचौं स्थानमा छ ।