२०८१ मंसिर १३

बागी उमेदवारलाई पार्टीमै राख्न कांग्रेसले ल्यायो ‘फकाउने’ नीति

काठमाडौं । नेपाली कांग्रेसले उमेदवारी फिर्ता नलिएका बागी उमेदवारलाई संरक्षण गर्ने नीति अख्तियार गरेको छ । 


Advertisement


कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) (ग) मा पार्टीलाई असहयोग गर्ने बागी उमेदवार स्वतः पार्टीबाट निष्कासित हुने प्रावधान छ । तर, आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले अन्तिम समयमा आधिकारिक उमेदवारको पक्षमा वक्तव्य जारी गरेर सहयोग गरे विधानको धारा आकर्षित नहुने उल्लेख गरेको छ ।

पार्टी प्रवक्ता प्रकाशशरण महतले आधिकारिक उमेदवारविरुद्ध तथा नेतृत्वको गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिने अधिकांशले उमेदवारी फिर्ता लिए पनि फिर्ता लिन बाँकीहरूको हकमा सो निर्णय गरिएको जानकारी दिए । 

“प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिकारिक उमेदवारहरूको पक्षमा समर्थन गर्दै वक्तव्य जारी गरी चुनावी प्रतिस्पर्धाबाट बाहिरिने साथीहरूको हकमा यो प्रावधान लागु हुने छैन,” उनले भने । 

कांग्रेसको तथ्यांकअनुसार देशभर पार्टीबाट ३० हजार बढी उमेदवार चुनावी मैदानमा छन् । बागीमध्ये पनि ६२३ जनाले उमेदवारी फिर्ता लिएका छन् ।

Copy link
Powered by Social Snap