२०८१ मंसिर ४

पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

पोखरा महानगरको निर्वाचनमा मेयरका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको आरोप लागेका नेता राजिव पहारीले पुष्टी गर्न चुनौती दिएका छन्।  आरोप पुष्टी भए जुनसुकै सजाय भोग्न पनि तयार भएको उनले बताएका छन्।  


Advertisement


पोखरा महानगरको मतगणनाका क्रममा अन्तर्घात देखिएको भन्दै एमालेकै नेता कार्यकर्ताले पहारीमाथि अन्तर्घातको आरोप लगाएका छन्। उनका स्वकीय सचिव भनिएका मनोज पहारीले अर्का एक व्यक्तिसँग गरेको फोन कुराकानीको रेकर्ड सार्वजनिक गर्दै नेता पहारीले मेयर उम्मेदवार थापालाई अन्तर्घात गरेको आरोप लगाएका थिए।  

फोन कुराकानीमा मनोजले राजीव पहारीको राजनीतिमा अप्ठ्यारो आउन नहुने उल्लेख गरेका छन्।  गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यलाई मतदान गर्न रकमको समेत बार्गेनिङ गरेको उक्त अडिओमा सुन्न सकिन्छ।  

कृष्ण थापालाई हराएबापत् आफूलाई पार्टीबाट कुनै कारबाही नहुनेसमेत बताएका छन्। फोनवार्तामा उनले थापालाई चुनाव हराएवापत एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी इन्चार्ज पद्यमा अर्याल, जिल्ला अध्यक्ष मनबहादुर गुरुङले कारबाही नगर्ने समेत बताएका छन्।  

एमाले गण्डकीका सांसदसमेत रहेका पहारीले विज्ञप्ती जारी गरेर मनोज आफ्नो स्वकीय सचिव नरहेको दाबी गरेका छन्।  

‘अडिओ संवादमा कुरा गरेका भनिएका मनोज पहारी मेरो सचिवालयमा वा सहयोगीका रूपमा कहिल्यै नरहेको तथ्य जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘यसर्थ संवादसँग मलाई जोड्न खोज्नु नियोजित हिसाबले मलाई फसाउने षडयन्त्र बाहेक केही होइन। ’

अडिओ संवादमा मनोजले चुनावअघि पोखरा आएका एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखेललाई सुन चोरी आरोपमा टिकट खोसिएका नेता दीपक पौडेलको घरमा आफूले लगेको उल्लेख गरेका थिए।  

पहारीले विज्ञप्तिमा मनोज आफूसँग सम्बन्धित व्यक्ति नभएको दाबी गरे पनि मनोजले फेसबुकमा राखेको तस्वीरले उनीहरुको सन्निकट देखाउँछ।  एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला बालुवाटारमा ओलीलाई बिचमा राखेर मनोज र राजीवसँगै खिचेको तस्वीर मनोजको फेसबुकमा देखिन्छ।  त्यतिबेला ओलीलाई भेट्न पहारीले नै मनोजलाई बालुवाटार लगेको उनी निकट कार्यकर्ताको दाबी छ। 

विज्ञप्तिमा पहारीले पार्टीहित र संस्थागत निर्णयको पक्षमा वफादार भएर लागेको दाबी गर्दै अन्तर्घातको आरोप पुष्टी गर्न चुनौती दिएका छन्।  

‘म माथि लगाउन खोजिएको आरोप पुष्टी गर्न चुनौती दिन चाहन्छु,’ पहारीले विज्ञप्तीमा भनेका छन्, ‘पार्टीको छानविनमा मेरो कुनै रौं बराबर कमजोरी फेला परेमा जुनसुकै सजाय भोग्न तयार छु।’

Copy link
Powered by Social Snap