काठमाडौं । युगान्डाको महिला क्रिकेट टोलीले बिहीबार नेपालविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । केभिन अविनोले अविजित ४२ रन बनाएपछि युगान्डाले नेपालविरुद्धको तेस्रो खेल ६ विकेटले जितेको हो ।
Advertisement
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ३–० को अग्रता लिएको छ । युगान्डाले पहिलो खेल १२ रनले जितेको थियो भने दोस्रो खेलमा एक विकेटको विजय हासिल गरेको थियो ।
नेपालका लागि ज्योति पाण्डेले ४७ रज बनाएकी थिइन् । उनले ५४ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले १२ रन बनाइन् । कप्तान रुविना क्षेत्रीले अविजित १८ रन बनाएकी थिइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
युगान्डाकी फियोना कुलुमे, कोनसे अवेको र सराह एकितेङले समान दुईदुई विकेट लिए । जनेट एमबाबाजी र रिता मुसामालीले एकएक विकेट लिए ।
१०० रनको लक्ष्य पूरा गर्नेक्रममा युगान्डाकी अविनोले अविजित ४२ रन बनाइन् । एमबाबाजीले २७ रन बनाइन् । युगान्डाले १३ अतिरिक्त रन पाएको थियो ।
नेपालका कविता कुँवरले दुई विकेट लिए । रुविना क्षेत्री र इन्दु बर्माले एकएक विकेट लिए ।
नेपालले चौथो खेल शुक्रबार खेल्नेछ ।