पोखरा । तनहुँको व्यास नगरपालिकामा अहिले मत गणना चलिरहेको छ । कांग्रेसका वैकुण्ठ न्यौपाने एमाले समर्थित स्वतन्त्र उमेदवार दीपकराज जोशी भन्दा अगाडि छन् ।
Advertisement
अघिल्लोपटक गण्डकीका ८५ मध्ये ४४ पालिका प्रमुख जितेर गण्डकीको पहिलो पार्टी बनेको कांग्रेस अहिले गठबन्धन हुँदा पनि पहिलो पार्टी बन्नेतर्फ उन्मुख छ । तर, उसले आफ्ना अघिल्लोपटक जितेका पालिका भने गुमाएको छ ।
निर्वाचन आयोगकाअनुसार गण्डकीमा सार्वजनिक ८३ पालिकाको नतिजामध्ये हालसम्म एमाले र कांग्रेसले समान ३५–३५ पालिका जितेका छन् ।
अघिल्लोपटक पाँच पालिकामात्र जितेको नेकपा (माओवादी केन्द्र)ले अहिले गोरखामा मात्रै नौवटा पालिका जितेको छ । उसले तनहुँको आबुखैरेनी र बागलुङको ताराखोला गाउँपालिकासहित कुल ११ पालिका जितेको छ ।
बागलुङमा जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चा (राजमो)ले जितेको छ ।
अब नतिजा आउन बाँकी दुईवटा पालिका मात्रै छन् । तनहुँको व्यास नगरपालिका जितेमा स्थानीय तह निर्वाचनमा कांग्रेस गण्डकीको पहिलो दल बन्ने छ । पोखरा महानगरपालिकामा चाहिँ गठबन्धनका उमेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यको अग्रता निरन्तर कायमै छ ।
गठबन्धन नहुँदा अघिल्लो स्थानीय तह निर्वाचनमा ४४ वटा पालिकाको प्रमुखमा जितेको कांग्रेस अहिले भने ३६ पालिकामा मात्र सीमित हुने देखिएको छ ।
कांग्रेस मुस्ताङका पाँच गाउँपालिकामध्ये एउटा मात्र पालिका जित्न सफल रह्यो । अघिल्लो निर्वाचनमा मुस्ताङमा कांग्रेसले तीनवटा पालिकामा जित हात पारेको थियो । लोमानथाङ गाउँपालिका, बारागुङ मुक्तिक्षेत्र र थासाङ गाउँपालिका जितेको कांग्रेसले मुस्ताङमा अहिलको निर्वाचनमा यी पालिका जोगाउन सकेन ।
बरु एमालेले जितेको घरपझोङ गाउँपालिका जितेर कांग्रेसले मुस्ताङमा साख जोगायो । बाँकी चारै गाउँपालिकामा एमालेका उमेदवारले गठबन्धनलाई पराजित गरे ।
मुस्ताङमा कांग्रेस अघिल्लो निर्वाचनको तुलनामा दुई पालिका गुमायो ।
अघिल्लो निर्वाचनमा म्याग्दीमा पहिलो पार्टी बनेको कांग्रेस अहिले दोस्रोमा खुम्चिएको छ । म्याग्दीका ६ पालिकामध्ये एमालेले चार पालिका जितेको छ ।
०७४ को चुनावमा अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मालिका र रघुगंगा गाउँपालिका कांग्रेसले जितेको थियो । एमालेले धवलागिरी र मंगला गाउँपालिका जितेको थियो ।
तर, पाँच वर्षपछिको निर्वाचनमा परिणाम फेरिएको छ । जिल्लाको एकमात्र बेनी नगरपालिका कांग्रेसले गुमाएको छ । अन्नपूर्ण गाउँपालिका, मालिका पनि कांग्रेसले गुमाएको छ ।
त्यसको सट्टा धवलागिरिमा चुनाव जितेको छ भने रघुगंगा गाउँपालिकामा साख जोगाएको छ ।
एमालेले मंगलामा साख जोगाउँदै गर्दा बेनी नगरपालिका, अन्नपूर्ण र मालिका आफ्नो पक्षमा पारेको छ ।
म्याग्दीमा पनि कांग्रेसले दुई पालिका गुमाउन पुग्यो ।
बागलुङमा भने गठबन्धनले १० मध्ये ९ पालिका आफ्नो पक्षमा पारेर एमालेलाई ढोरपाटन नगरपालिकाको प्रमुखमा सीमित पारेका छन् ।
०७४ मा ताराखोला गाउँपालिका, काठेखोला गाउँपालिका, बागलुङ नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका एमालेले जितेको थियो । गल्कोट र जैमिनी नगरपालिका, तमानखोला, निसिखोलामा कांग्रेस विजयी हुँदा बरेङ गाउँपालिका राष्ट्रिय जनमोर्चाले जितेको थियो ।
अहिले गठबन्धनका तर्फबाट कांग्रेसले एमालेले यसअघि नगरप्रमुख जितेको बागलुङ नगरपालिका, गाउँपालिका अध्यक्ष जितेको काठेखोला, बडिगाड गाउँपालिकामा जित हासिल गरेको छ ।
६ गाउँपालिकामध्ये काठेखोला गाउँपालिकामा कांग्रेसका राजु थापा, बडिगाड गाउँपालिकामा कांग्रेसकी गण्डकी थापा अधिकारी जिते । यस्तै, तमानखोला र निशिखोला गाउँपालिका पनि कांग्रेसकै पोल्टामा पर्यो । चार नगरपालिकामध्ये ढोरपाटनमा एमाले, जैमिनीमा राष्ट्रिय जनमोर्चाका उमेदवारले जित्दा कांग्रेसले गल्कोट र बागलुङ नगरपालिकामा जित हासिल गर्यो ।
ताराखोला गाउँपालिकामा माओवादी, बरेङ गाउँपालिकामा राजमोका उमेदवारले जिते ।
समग्रमा बागलुङमा ६ पालिकामा कांग्रेस, एक पालिकामा माओवादी र २ पालिकामा जनमोर्चाले जित्दा एमाले भने एक पालिकामा सीमित हुन पुग्यो । बागलुङमा यसपटक कांग्रेसले दुई पालिका थपेको छ ।
पर्वतमा भने अघिल्लोपटक तीन पालिकामा खुम्चिएको कांग्रेसले अहिले दुई पालिका थपेर पाँच पालिकामा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा एमालेले जीतेको विहादी गाउँपालिका र फलेवास नगरपालिकासहित कांग्रेसले अघिल्लोपटक नै जितेका जलजला गाउँपालिका, कुश्मा नगरपालिका र पैयुँ गाउँपालिका सुरक्षित राख्यो ।
पर्वतमा पनि कांग्रेसले दुई पालिका थप्यो । कास्कीमा अघिल्लोपटक अन्नपूर्ण गाउँपालिकामा जितेको कांग्रेसले अहिले त्यो पालिका गुमाएको छ । त्यसको सट्टा एमालेले जीतेको माछापुच्छ्रे र मादी गाउँपालिका आफ्नो पक्षमा पारेको छ । रूपा गाउँपालिका एमालेले जोगाउँदा पोखरा महानगरपालिकामा भने एकीकृत समाजवादीको अग्रता कायमै छ ।
कास्कीमा अहिले कांग्रेसले एक पालिका आफ्नो पक्षमा पार्न सफल रह्यो ।
स्याङ्जामा भने अघिल्लोपटक अर्जुचौपारी, चापाकोट, वालिङ र भीरकोट नगरपालिका जितेको कांग्रेसले आफ्नो गढ मानिएको वालिङ नगरपालिका गुमाउन पुग्यो । स्याङ्जाका ११ मध्ये चार पालिका जितेको कांग्रेसले अहिले पुतलीबजार नगरपालिका र गल्याङ नगरपालिकामा जित हासिल गरेको छ । अर्जुनचौपारी, भीरकोट र चापाकोट नगरपालिका भने कांग्रेसले जोगाउन सकेन ।
बाँकी फेदिखोला, आँधीखोला, वालिङ, हरिनास, बिरुवा र कालीगण्डकी गाउँपालिका चाहिँ एमालेले जितेको छ ।
स्याङ्जाबाट यसपटक कांग्रेसले एक पालिका आफ्नो पक्षमा थप्यो ।
दस पालिका रहेको तनहुँमा ०७४ मा कांग्रेसले ६ वटा पालिकामा जिते थियो । तीनवटा एमाले र बन्दिपुर गाउँपालिकामा माओवादी विजयी भएको थियो ।
आबुखैरेनी, ऋषिङ, भानु, व्यास, म्याग्दे र शुक्लागण्डकी नगरपालिका कांग्रेसले जित्दा देवघाट, भिमाद र घिरिङ गाउँपालिका एमालेले जितेको थियो ।
अहिले भने व्यास नगरपालिकामा कांग्रेसका उमेदवारको अग्रता कायमै छ ।
बाँकी ९ पालिकामा कांग्रेस र एमालेले ४–४ पालिका जित्दा अघिल्लोपटक कांग्रेसले जितेको आबुखैरेनी गाउँपालिका चाहिँ माओवादीले जितेको छ । कांग्रेसले भानु, शुक्लागण्डकी, ऋषिङ र देवघाट नगरपालिका जितेको छ भने एमालेले भिमाद, म्याग्दे, घिरिङ र बन्दीपुर गाउँपालिका जितेको छ ।
यसपटकको चुनावमा चाहिँ कांग्रेसले व्यास जितेको खण्डमा पाँचवटा मात्रै पालिका आफ्नो पक्षमा पार्ने छ । तनहुँमा यसपटक एमालेले एक पालिका थप आफ्नो पक्षमा पार्न सफल रह्यो भने कांग्रेसले एक पालिका गुमायो ।
नार्पाभूमिमा कांग्रेसले जितेको छ भने चामेमा एमालेले अहिलेपनि जित हासिल गरेको छ ।
मनाङ ङिस्याङमा एमाले र नासो गाउँपालिकामा कांग्रेस उमेदवार विजयी भएका छन् ।
सातवटा पालिका गुमाएको कांग्रेसलाई सबैभन्दा बढी घाटा गोरखामा भएको छ ।
अघिल्लो स्थानीय तह चुनावमा कांग्रेसले गोरखाका ११ मध्ये अजीरकोट, आरुघाट, गण्डकी, गोरखा, चुमनुम्ब्री, धार्चे, पालुङटार, भीमसेन र सिरानचोक गरि ९ पालिका जितेको थियो ।
बारपाक सुलीकोट र शहिद लखन गाउँपालिकामा सीमित रहेको माओवादीले यसपटक कांग्रेसलाई नै २ सिटमा झारिदियो ।
आरुघाट र सिरानचोकबाहेकका सबै पालिका माओवादीले कांग्रेसबाट खोस्यो ।
गोरखामा मात्रै कांग्रेसलाई ७ पालिका घाटा लाग्यो ।
लमजुङमा दुधपोखरी र मध्यनेपाल नगरपालिका जितेको कांग्रेसले यसपटकको चुनावमा जितेका पालिका सुरक्षित राख्न सफल भयो भने सुन्दरबजार नगरपालिका र राइनास भने आफ्नो पक्षमा पार्न सफल रह्यो । बेँसीहर, क्होलासोँगर, दोर्दी र मस्र्याङदी गाउँपालिका भने एमालेले जित्यो ।
लमजुङबाट कांग्रेसले आफ्नो पक्षमा दुई पालिका थप्न सफल रह्यो ।
गण्डकीकै एकमात्र तराईको जिल्ला नवलपुरमा भने कांग्रेस नराम्रोसँग पछाडि परेको छ । ०७४ मा ८ मध्ये ६ पालिका जितेको कांग्रेस अहिले २ वटामा सीमित हुन पुगेको छ ।
०७४ मा कावासोती र गैँडाकोट नगरपालिकाबाहेक देवचुली नगरपालिका, बुङदीकाली, बुलिङटार, मध्यविन्दु, विनयत्रिवेणी र हुप्सेकोट गाउँपालिका कांग्रेसले जितेको थियो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको गृहजिल्ला समेत रहेको नवलपुरमा अहिले भने कांग्रेसले गैँडाकोट नगरपालिका र हुप्सेकोट गाउँपालिका मात्र जित्न सफल रह्यो ।
बाँकी सबै पालिकामा एमालेले जित्दा कांग्रेस भने चार पालिका गुमाउन पुग्यो ।