काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।
राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरू सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो । सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।
Advertisement
बुधबार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क्रिकेट सामग्री प्रदान गर्नेछ । खेलाडीसँगको अन्य सम्झौता भने कम्पनीले खुलाएको छैन ।
सम्झौता कार्यक्रममा ज्याप क्रिकेटका सीईओ भारध्वजले आगामी दिनमा अन्य क्रिकेटरहरूलाई समेत प्रायोजन गर्ने बचनबद्धता व्यक्त गरे । उनले भने, “नेपाली क्रिकेटसँग यात्रा सुरुवात गर्न पाउँदा उत्साहित छु । नेपाली क्रिकेटले पछिल्लो समय गरेको प्रगति उत्साहजनक छ । यो गतिले नेपाली टिम छिट्टै थप उचाइमा पुग्नेछ । त्यसैले क्रिकेटरहरूलाई विश्वस्तरीय क्रिकेट सामग्री प्रदान गर्दै खेलस्तर विकासमा सहयोग गर्न चाहन्छौँ ।”
कप्तान सन्दीप लामिछानेले ज्याप क्रिकेटको सामग्रीहरू स्तरीय रहेको बताउँदै युवा क्रिकेटरहरूलाई पनि प्रायोजन गरेकोमा धन्यवाद व्यक्त गरे । “ज्यापले स्तरीय क्रिकेट सामग्री उत्पादन गर्दै आएको छ । ज्यापको ब्याट पहिलो पटक प्रयोग गर्दा नै यसको स्तर र सन्तुलनले मलाई प्रभावित बनायो,” उनले भने, “त्यसैले म सबैलाई ज्यापको सामग्री प्रयोग गर्न सुझाव दिन्छु ।” यस्तै विकेटकिपर ब्याट्सम्यान भण्डारीले ज्यापको क्रिकेट अभ्यास गर्ने क्रममा प्रयोग गरेको र निकै स्तरीय लागेको प्रतिक्रिया दिए ।
कार्यक्रममा ज्याप नेपालका प्रतिनिधि तथा पूर्व राष्ट्रिय क्रिकेटर लाक्पा लामाले ज्यापको सामग्री स्तरीय रहेको उल्लेख गर्दै क्रिकेटरलाई सामग्री सुलभ र सहज उपलब्ध गराउने हिसाबले यो प्रायोजन गरेको बताए ।