२०८१ मंसिर ४

नाडाल, जोकोभिच र जोरेभ तेस्रो चरणमा

काठमाडौं । राफेल नाडालले बुधबार राति ग्रान्ड स्लाममा ३००औं जित निकाल्ने क्रममा कोरेन्टिन मौटेटलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । नाडालसँगै विश्व नम्बर एक नोभाक जोकोभिच र एलेक्जेन्डर जेरेभले पनि तेस्रो चरणमा स्थान बनाउन सफल भए ।


Advertisement


सबैभन्दा धेरै २१ ग्रान्डस्लाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनमा १३ उपाधि जितिसकेका छन् । स्पेनका ३५ वर्षे नाडालले फ्रान्सका २३ वर्षे मौटेटलाई ६–३, ६–१, ६–४ को स्कोरमा हराएका हुन् । नाडी र खुट्टाको चोटका कारण नाडालको तयारीमा असर पुगेको थियो । तर, पहिलो दुई चरणको प्रदर्शन हेर्दा नाडाल १४औं उपाधि जितका लागि बलियो दाबेदार देखिएका छन् ।

“तयारी राम्रो हुन नसकेकाले यस्तो राम्रो हुन्छ भन्ने लागेको थिएन । तर, राम्रो भइरहेको छ । तथापि, प्रत्येक दिन मलाई स्वास्थ्यको चिन्ता हुन्छ,” नाडालले भने, “त्यसकारण यहाँ जे हुन्छ त्यो स्विकार्य छ । तर, अहिले भने म टेनिसमा मात्र केन्द्रित
छु ।”

अर्को साता ३६ वर्ष लाग्ने नाडालले अब नेदरल्यान्ड्सका बोटिक भान डी जान्डस्चुपविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । खेल जित्दै गएमा नाडालले क्वार्टरफाइनलमा नाभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

djokovic1622609907.jpg

जोकोभिच फ्रेन्च ओपनको उपाधि रक्षा गर्दै नाडालको कीर्तिमानसँग बराबरी गर्ने लक्ष्यमा छन् । सर्वियाका जोकोभिचले गएराति स्लोभाकियाका एलेक्स माल्कनलाई ३–० को सेटमा हराए । कोभिड–१९विरुद्धको खोप नलगाएका कारण जोकोभिचले अस्ट्रेलियन ओपन खेल्न पाएका थिएनन् । उनलाई अस्ट्रेलियन सरकारले डिपोर्ट गरिदिएको थियो ।

३५ वर्षे जोकोभिचले माल्कनलाई ६–२, ६–३, ७–६(७–४) को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । चोकोभिचले अब स्लोभेनियाका अल्जाज बेडेनेसँग प्रतिस्पर्धा गर्नेछन् । बेडेनेले उरुग्वेका पाब्लो कुएभासलाई ४–६, ६–४, ७–६(७÷५), ६–४ को स्कोरमा हराएका हुन् ।

तेस्रो वरीयताप्राप्त जर्मनीका जेरेभले अर्जेन्टिनाका सेबास्टिन बाइजलाई २–६, ४–६, ६–१, ६–२, ७–५ को सेटमा हराउँदै तेस्रो चरणमा स्थान बनाए । जेरेभले अब अमेरिकाका ब्रान्डन नाकाशिमाविरुद्ध खेल्नेछन् ।

स्पेनका युवा खेलाडी १९ वर्षे कार्लोस अल्कारेजले पनि तेस्रो चरणमा स्थान बनाएका छन् । उनले आफ्नै देशका अल्बर्ट रामोस–भिनोलसलाई ६–१, ६–७(७÷९), ५–७, ७–६(७÷२), ६–४ को स्कोरमा हराउँदै तेस्रो चरणमा स्थान बनाएका हुन् । अल्कारेजले अब अमेरिकाका सेबास्टिन कोर्डाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।

Copy link
Powered by Social Snap