पोखरा । पोखराका १५औँ नगर प्रमुख धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरेका छन । पोखरा सभागृहमा सपथ लिएलगत्तै उनले उपप्रमुखसहित वडाध्यक्ष र सदस्यहरू सबैलाई फूल रोप्ने कार्यमा सहभागी हुन आग्रह गरेका थिए ।
पोखरा वडा नम्बर ७ मा रहेको पुष्पलाल पार्कमा पुगेर माल्यार्पण गरे । पोखराको जिरोकिमीदेखि लेकसाइड सडकखण्डको बुलौदी खोलादेखि हल्लनचोकसम्मको डिभाइरको बिचमा पोखराका १६७ जनप्रतिनिधि नै फूल रोप्न पुगेका थिए ।
Advertisement
पोखरा पर्यटकीय सहर भएकाले फूलैफूलको सहरका रूपमा चिनाउन ‘सिम्बोलिक’ रूपमा फूल रोपिएको उनीहरूले बताएका छन् ।
“पोखरा विश्वकै सुन्दर सहर हो । फूल भनेको सुन्दरताको प्रतीक हो । म पोखरालाई पोखरालाई फूलैफूलको सहर बनाउँछु,” आचार्यले भने । पोखरालाई हरित सहर बनाउने उनले बताए ।
तीन निर्णय
पदभार ग्रहणलगत्तै प्रमुख आचार्यले तीनवटा निर्णय गरेका छन् । त्यसमा न्यून आय भएकालाई पोषणभत्ता, सिम्बोल अफ पोखरा प्रतियोगिता र पोखरालाई पर्यटकीय राजधानी बनाउन संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय रहेको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न मेयर आचार्यले संघ सरकारलाई प्रस्ताव गर्ने बताएका छन । सामान्य प्रशासन मन्त्रालय हुँदै संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयमा यो प्रस्ताव पठाइने छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न यसअघिका मेयर मानबहादुर जिसीले पनि प्रयास गरेका थिए । यस विषयमा गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले निर्णय नै गरिसकेको छ । तर, संघ सरकारबाट निर्णय भने भएको छैन ।
प्रमुख आचार्यको पदभार ग्रहण कार्यक्रममा सहभागी श्रम रोजगार तथा सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले पोखरालाई पर्यटकीय राजधानी बनाउने प्रस्ताव तत्कालै मन्त्रिपरिषद्मा लैजाने प्रतिवद्धता गरेका छन् ।
यस्तै, न्यून आय भएका परिवारलाई पोषण भत्ता उपलब्ध गराउने दोस्रो निर्णय गरिएको छ । न्यून आय भएका व्यक्तिलाई वडाको सिफारिसका आधारमा पोषणभत्ता दिने घोषणा भए पनि अन्य प्रक्रिया भने बाँकी छ । भत्ताको मात्रा चाहिँ बजेटपछि मात्रै थाहा हुने छ ।
पोखरालाई चिनाउन ‘सिम्बोल अफ पोखरा’ प्रतियोगितासमेत आह्वान गरेका छन् । आगामी बजेटमा व्यवस्था गर्ने गरी २ लाख रुपैयाँ पुरस्कार राशिसमेत तोकिएको छ । प्रतियोगिताको अवधि दुई महिनाको हुने छ ।
थ्री डी डिजाइनमा यो एक वर्षभित्र बनाउने योजना छ । समय एक महिना तोकिएको छ ।
नवनिर्वाचित उपमेयर मञ्जुदेवी गुरुङले महानगरका अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षामा समान पहुँच स्थापित गर्ने र महिला हिंसाविरुद्ध पुरुषको ऐक्यवद्धताका लागि महिला पुरुष समचेतना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेकी छन् ।
पोखरा १३ को निर्णय : स्कुल टू वर्क
बिहीबार नै पदभार ग्रहण गरेका वडा नं. १३ का वडाध्यक्ष किरण बरालले सामुदायिक विद्यालयमा ‘स्कुल टू वर्क’ कार्यक्रम सुरुवात गर्ने निर्णय गरेका छन् । पहिलो निर्णयमा वडा नं. १३ का वडावासीलाई धन्यवाद दिने निर्णय गरिएको बरालले जनाए ।
दोस्रो र तेस्रोमा चाहिँ कृषि र शिक्षा सम्बन्धी निर्णय गरिएको उनले जानकारी दिए ।
“यस वडाभित्रका माध्यमिक विद्यालयहरूमा ‘स्कुल टू वर्क’ कार्यक्रम सञ्चालन गरी विद्यालयको शिक्षालाई सिप विकास र कामसँग जोडेर शैक्षिक गुणस्तर विकास गर्ने निर्णय गरियो,” निर्णयमा उल्लेख गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई फिल्डमा नै लगेर सम्बन्धित विषयवस्तुबारे जानकारी दिनकै लागि यो कार्यक्रम सुरु गर्न लागिएको उनले प्रष्ट पारे ।
“फिल्डमा नै लगेर सम्बन्धित विषयको बारेमा जानकारी दिँदा उनीहरूले व्यवहारिक रूपमा पनि बुझ्न सक्छन र शिक्षामा सुधार हुन सक्छ । त्यसकारण, यो निर्णय गरेका हौँ,” उनले बताए ।
हरेक घरमा कागतीको बिरुवा वितरण गर्ने निर्णय पनि पोखरा १३ ले गरेको छ ।
“यस पोखरा महानगरपालिका वडा नं. १३ मा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी गर्न र वातावरण स्वच्छ बनाउन ‘एक घर, एक कागतीको बिरुवा वितरण’ गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो,” निर्णयबारे जानकारी दिँदै उनले भने ।
यसले वातावरण स्वच्छ हुने र वडावासीले उपभोग पनि गर्न पाउने हुँदा यो अभियान थालनी गरिएको उनले बताए । वडावासीलाई कागतीको बिरुवा चाहिँ वडाले नै उपलब्ध गराउने छ । यो कार्यक्रम घोषणापत्रमा नै उल्लेख गरिएको उनले जानकारी दिए ।