२०८१ मंसिर ३

बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता

काठमाडौं । राष्ट्रिय सभाका आठजना सांसदहरूले बलात्कार मुद्दामा हदम्याद हटाउन माग गर्दै संकल्प प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेर प्रस्ताव दर्ता गराइएको सांसद विमला राई पौडेलले जानकारी दिइन् । 


Advertisement


समर्थकमा सांसदहरू विमला राई पौड्याल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह (गरिमा), शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा छन् ।

संकल्प प्रस्तावमा बाल यौन दुर्व्यवहारको कसुरमा सजायका लागि उजुरी दिने हदम्यादसम्बन्धी व्यवस्था पूर्ण रूपमा हटाउनुपर्ने माग गरिएको छ । साथै बालबालिकाबाहेक अन्यको हकमासमेत बलात्कारजस्तो जघन्य अपराधमा उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्थाको पुनरवलोकन र पुनर्विचार गरी आवश्यक सशोधन गर्न माग गरिएको छ । 

“समाजमा बालबालिकाविरुद्ध यौन हिंसाका घटनाहरू बढिरहेको, डर, त्रास, लोभ, लालच वा यस्तै विभिन्न शारीरिक र मानसिक अवस्थाका कारण बालबालिकाले समयमै घटनाको उजुरी दिन नसकेको र उजुरी दिनका लागि सक्षम भइसक्दा उजुरी दिने हदम्यादको कारण पीडितले न्याय नपाउने र पीडकले सजायबाट उन्मुक्ति पाउने अवस्था देखिएकाले बालबालिका संरक्षणसम्बन्धी ऐन २०७५ दफा ७४, उपदफा २ र मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेको यौन अपराधविरुद्ध उजुरि दिने हदम्यादसम्बन्धी व्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनवलोकन गर्न जरुरी देखिएको छ,” प्रस्तावमा लेखिएको छ ।

No description available.

Copy link
Powered by Social Snap