कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन् ।
Advertisement
राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवर्द्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन् ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताए । अवलोकनपछि राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरे ।
राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।
राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रवर्द्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै भने, “यस्ता ठाउँहरूको प्रवर्द्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।”
राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । उनी आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमान्ड हेडक्वाटर निमारेमा बस्नेछिन् ।