काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गर्ने घोषणा गरेका छन् ।
Advertisement
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकबाट धरानमा पनि राष्ट्रिय आविष्कार केन्द्रको शाखा स्थापना गरिने जानकारी दिएका हुन् ।
“राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ । हामी गृहकार्यमा जुट्दैछौँ,” उनले भनेका छन् ।
राष्ट्रिय आविष्कार केन्द्र सामाजिक अभियन्ता तथा वैज्ञानिक महावीर पुनको नेतृत्वमा २०७६ कात्तिकदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा सञ्चालनमा आएको हो । जसले वैज्ञानिक, स्टार्टअपसहित उद्यमशीलताको क्षेत्रमा खोज, अनुसन्धान र विकास गर्दै आएको छ ।
तर, आविष्कार केन्द्रका संस्थापक पुन अहिले आफूलाई यसबारे कुनै जानकारी नभएको बताउँछन् । यद्यपि मेयर साम्पाङको पहल सकारात्मक रहेको उनको भनाइ छ ।
साथै उनले आविष्कार केन्द्रको शाखा खोल्नलाई आफ्नो सर्त रहेको पनि बताए ।
“कुरा सकारात्मक हो । उहाँहरूले त्यसै खोल्छु भनेर हुँदैन, मेरो सर्त छ, मेरो सर्त मान्नुपर्छ अनि मात्र खोलिन्छ । आफैँ आफ्नो हिसाबले खोल्नुहुन्छ भने बेग्लै कुरा हो,” उनले संक्षिप्त कुराकानीमा भने ।
पुनले आफ्नो उद्देश्य धेरै शाखा खोलेर व्यापार गर्ने नभएको पनि स्पष्ट पारे । उनकाअनुसार अहिलेसम्म राष्ट्रिय आविष्कार केन्द्रको कुनै शाखा छैन ।