२०८१ मंसिर ४

म्याग्दीमा एमाले जितको ‘ह्याक्ट्रिक’मा र प्रभाव क्षेत्र तोड्ने गठबन्धनको दाउ




म्याग्दी । म्याग्दीमा २०५६ सालमा नेपाली कांग्रेसका नारायणसिंह पुन र २०६४ मा नेकपा (माओवादी)का गोविन्द पौडेलले सांसदको चुनाव जिते । २०७० सालमा एक्लै र २०७४ मा वाम गठबन्धन गरेर प्रतिनिधिसभातर्फ विजयी भएको एमाले म्याग्दीमा जितको ‘ह्याट्रिक’ गर्ने दाउमा छ ।



Advertisement



कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) तेस्रोपटक चुनावी मैदानमा उत्रिएका छन् । यसअघिको निर्वाचनमा दुईपटक पराजित गर्बुजालाई यसपालि सत्तारूढ दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाको साथ छ । गर्बुजा र नेकपा (एमाले)का गण्डकी प्रदेश कमिटी सदस्य हरिकृष्ण श्रेष्ठबीच प्रतिनिधिसभा सदस्यमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका नवराज शर्मासँग झिनो मतान्तरले पराजित भएका गर्बुजा २०७४ सालमा एमालेका भूपेन्द्र थापासँग करिब दुई हजार ३०० मतान्तरले पराजित भए ।

गएको स्थानीय तह निर्वाचनमा एमालेले चारवटा पालिका प्रमुख, तीन उपप्रमुख, २२ वडाध्यक्ष, कांग्रेसले दुई अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, माओवादी केन्द्रले दुई उपप्रमुख र ६ वटा वडामा अध्यक्ष जितेका थिए । स्थानीय निर्वाचनमा एमालेका वडाध्यक्षका उमेदवारले २३ हजार ९०, कांग्रेसका वडाध्यक्षका उमेदवारले १९ हजार ८७० र माओवादी केन्द्रका वडाध्यक्षका उमेदवारले आठ हजार ५९२ मत ल्याएका थिए ।

दुई कार्यकाल जिल्ला अध्यक्षको नेतृत्व गरेर संसदीय चुनाव जिताएका श्रेष्ठलाई एमालेभित्र सर्वसम्मत रूपमा प्रतिनिधिसभा सदस्यको उमेदवार सिफारिस गरिएको थियो । गएको स्थानीय तह चुनावको नतिजा, बलियो संगठन, प्रभावशाली उमेदवारका कारण चुनाव जित्ने आधार भएको एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवाल बताउँछन् । प्रदेशसभाको क्षेत्र ‘क’ बाट कटुवाल उमेदवार छन् ।



जिल्ला सदरमुकाम बेनीबजार अवस्थित तत्कालीन अर्थुंगे गाविसको एक कार्यकाल अध्यक्ष भएका श्रेष्ठले बेनी खानेपानी, रेडक्रस, म्याग्दी पुस्तकालयलगायत सामाजिक संघ–संस्थाको पनि नेतृत्व गरेका थिए ।

नेपाली कांग्रेस म्याग्दीको दोस्रो कार्यकालका सभापति रहेका गर्बुजा बेलायती सेनाबाट सेवानिवृत्त भएपछि करिब २० वर्षदेखि राजनीतिमा सक्रिय छन् । २०७२ अघि एक कार्यकाल कांग्रेसको जिल्ला उपसभापति बनेका गर्बुजा २०६४ को चुनावमा कांग्रेसको समानुपातिक उमेदवार थिए । दुईवटा चुनावमा पराजित भए पनि विचलित नभएर राजनीतिमा निरन्तरता दिएको तथा यसपालि गठबन्धनको पनि साथ रहेकाले चुनाव जित्ने गर्बुजाको भनाइ छ ।

गर्बुजाले भने, “दुईपटक चुनाव हारे पनि म्याग्देलीको सेवामा लागिरहेको छु । विचलित भएको छैन । यसपालि म जितका लागि प्रतिस्पर्धामा आएको हो ।”

गर्बुजा बेलायती सेनामा हुँदा बास्केटबल, भलिबल र सुटिङ खेलाडी थिए ।

गठबन्धनको चुनाव परिचालन समितिका संयोजक कांग्रेसका जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (केवी) तिक्तता र असन्तुष्टि मेटाएर टोलस्तरसम्म गठबन्धनलाई कसिलो बनाएर संयुक्त चुनाव प्रचारमा केन्द्रित भएको बताउँदै गठबन्धनको मतले चुनाव जित्ने दाबी गर्छन् ।

६ स्थानीय तह रहेको म्याग्दीमा ८२ मतदानस्थल र ११९ मतदान केन्द्र छन् । उमेदवारहरू ग्रामीण क्षेत्रमा पुगेर घरदैलो गरी मतदाता भेटघाट र कार्यकर्ता भेला तथा प्रशिक्षण गरिरहेका छन् । सडक कालोपत्र गर्ने, भवन बनाउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, विद्युत्, पर्यटन, कृषि, जलविद्युत् र जडीबुटीको क्षेत्रमा आयआर्जन र रोजगारीको अवसर सिर्जना गराउने उमेदवारहरूको प्रतिबद्धता छ ।

Copy link
Powered by Social Snap