मधेसका दुई मुख्य दल जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई विस्थापित गर्दै मधेस प्रदेशमा एमाले र कांग्रेसले ‘कमब्याक’ गरेका छन्। पाँच वर्षअघि मधेसबाट प्रतिनिधि सभा र प्रदेश सभामा आफ्नो बर्चश्व देखाएका दुई प्रमुख मधेशवादी दल यसपालि नराम्रोसँग खुम्चिएका छन्।
मधेसमा यसपालि सबैभन्दा ठूलो कमब्याक नेकपा (एमाले) ले गरेको छ।
अहिलेसम्म मधेसमा प्रतिनिधि सभाका ३२ सिटमध्ये ३१ क्षेत्रको मतगणना भइसकेको छ। तीमध्ये ८ स्थानमा एमालेले जितेको छ। मतगणना भइरहेको एउटा स्थानमा एमाले कांग्रेस पछि दोस्रो सथानमा छ।
त्यस्तै मधेस प्रदेश सभामा पनि अहिलेसम्म आएका परिणाममा एमाले सबैभन्दा अघि छ। मधेस प्रदेशका ६४ क्षेत्रमध्ये एमालेले १३ स्थानमा जितेको छ भने २ स्थानमा अग्रता लिएको छ।
नेपाली कांग्रेसले अहिलेसम्म मधेसबाट ७ प्रतिनिधि सभा क्षेत्र जितेको छ। अहिले मतगणना भइरहेको एउटा क्षेत्र धनुषा-४ मा सो दलका उममेदवारले अग्रता लिएका छन्।
Advertisement
मधेस प्रदेश सभामा नेपाली कांग्रेसले पनि १३ सिट नै जितेको छ। एमालेले अहिले अग्रता लिएका थप दुई सिटमा जितेको खण्डमा मधेस प्रदेश सभामा प्रत्यक्षतर्फ जित्नेमा एमाले सबैभन्दा ठूलो दल हुनेछ।
समानुपातिकतर्फ भने अहिलेसम्म भएको मतगणनामा कांग्रेसले अग्रता लिएको छ। यो समाचार लेख्दासम्म कांग्रेसले २ लाख ७७ हजार मत ल्याएको छ भने एमालेले २ लाख ३६ हजार मत ल्याएको छ।
यसरी अन्तिम मत परिणाममा मधेसको सबैभन्दा ठूलो दल बन्नेमा एमाले र कांग्रेसबीच ‘काँटेका टक्कर’ देखिएको छ।
नेकपा एमालेले २०७४ मा पनि मधेस प्रदेश सभामा १४ सिट जितेको थियो। नेपाली कांग्रेसले भने यसपटक प्रदेशमा सभामा प्रत्यक्षतर्फ सिट बढाएको छ। गत निर्वाचनमा ८ स्थान मात्रै जितेको कांग्रेसले यसपटक १३ सांसद जितेको छ।
अहिले सम्मको निर्वाचन परिणामलाई हेर्ने हो भने मधेशमा प्रतिनिधि सभातर्फ एमालेले सबैभन्दा ठूलो कमब्याक गरेको छ। २०७४ को निर्वाचनमा एमालेले नेकपा (माओवादी केन्द्र) सँग गठबन्धन गरेर दुई सिट मात्र जितेको थियो। यसपटक जसपासँगको गठबन्धनमा उसले ८ सिट जितिसकेको छ भने थप एउटामा दोस्रो बनेर प्रतिस्पर्धा गरिरहेको छ। कांग्रेसले भने २०७४ सालमा मधेसबाट प्रतिनिधि सभामा ६ स्थान जितेको थियो। यसपालि ७ स्थान जितिसकेको छ र थप एक स्थानमा अग्रता लिएको छ।
गएको स्थानीय निर्वाचनमै कांग्रेस र एमालेले मधेसमा ठूलो प्रगति गरेका थिए। कांग्रेसले सबैभन्दा धेरै ४६ स्थानीय पालिका जितेको थियो भने एमालेले ३० पालिका जितेर दोस्रो दल बनेको थियो।
यी दुई ठूला राष्ट्रिय पार्टीले मधेसमा ‘कमब्याक’ गर्दा तेस्रो ठूलो दल माओवादी केन्द्र र दुई मधेसवादी दल जसपा र लोसपाले यसपालि चुनावमा खराब नतिजा ल्याएका छन्।
सबैभन्दा ठूलो बिजोग माओवादी केन्द्रको भएको छ। पाँच वर्ष अघि प्रतिनिधि सभामा ५ सिट जितेको माओवादी केन्द्रका उम्मेदवारले यसपालि मधेसबाट एउटा पनि सिट जित्न सकेनन्।
माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उठेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले भने सर्लाही-२बाट चुनाव जितेका छन्। यादवले माओवादी केन्द्रको चुनाव चिन्ह लिएकाले मधेसमा शून्य हुनबाट जोगिएको छ।
आफ्नो उम्मेदवारलाई अन्तिम समयमा बसाएर गठबन्धनले नै समर्थन गरेका माओवादीका पूर्वसांसद प्रभु साहले पनि चुनाव जितेका छन्। माओवादी केन्द्रले प्रदेश सभामा पनि अहिले सम्म ४ सिट मात्र जितेको छ।
मधेस प्रदेशमा सबैभन्दा ठूलो हार दुई मधेसवादी दल जसपा र लोसपाको भएको छ।
जनता समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम)ले २०७४ सालमा प्रतिनिधि सभामा ९ स्थानमा जितेको थियो। यसपटक भने ६ स्थानमा खुम्चिएको छ। आफ्नै प्रभाव क्षेत्रमा उसको सिट घटेको मात्र छैन, पार्टी अध्यक्ष उपेन्द्र यादव सप्तरी-२ बाट पराजित भएका छन्।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (तत्कालीन राष्ट्रिय जनता पार्टी) ले यसपटक ४ स्थानमा जितेको छ।२०७४ मा सो पार्टीले १० स्थानमा जितेको थियो।
मधेस केन्द्रित दलहरू प्रदेश सभामा समेत नराम्रोसँग पछारिएका छन्। गत निर्वाचनमा २० सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको जसपाले यसपटक ९ सिटका लागि संघर्ष गरिरहेको छ। ८ स्थानमा जितेको छ भने १ स्थानमा मतगणना सकिएको छैन।
गत निर्वाचनमा मधेस प्रदेशका १५ स्थानमा प्रत्यक्ष जितेको लोसपाले यसपटक ७ स्थानमा मात्रै जितेको छ।
यसपालि मधेस प्रदेशमा दुई मधेसवादी दलले नराम्रोसँग चुनाव हार्नुको मुख्य कारण मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टीको उदय हो। जनमत पार्टीले अहिलेसम्म प्रदेश सभामा ६ सिट जितेको छ। भने नेकपा एकीकृत समाजवादीले पनि ४ सिट र स्वतन्त्र उम्मेदवारहरूले ६ स्थानमा जितेका छन्।
मधेस प्रदेशमा समानुपातिकतर्फको मतमा जनमत पार्टीले लोसपाको भन्दा धेरै मत ल्याएको छ। यो समाचार लेख्दासम्म जनमत पार्टीले मधेसमा १ लाख ६८ हजार मत ल्याएको छ भने लोसपाले ६८ हजार मत मात्र ल्याएको छ। त्यस्तै जसपाले १ लाख ९० हजार मत ल्याएको छ।
यसरी स्थानीय तहदेखि अहिलेसम्मको समग्र नतिजालाई आधार मान्ने हो भने काग्रेस र एमालेले मधेसमा राम्रो कमब्याक गरेका छन्। दोस्रो जनआन्दोलन अघिसम्म मधेसमा कांग्रेस र एमाले नै मुख्य दल थिए।
२०६३ सालमा मधेस आन्दोलन भएपछि मधेसवादी दलको उदय भएको थियो। उदय भएको १५ वर्षपछि मधेसवादी दल आफ्नै पकड भएको प्रदेशमा धेरै कमजोर देखिएका छन्। त्यो सँगै कांग्रेस-एमालेको कमब्याक सम्भव भएको हो।
एमाले गएको स्थानीय चुनावमै मधेसमा गतिलो सुरूवात गरेको थियो।२०७४ को स्थानीय तहमा १६ स्थानमा खुम्चिएको एमालेले गत वैशाखमा भएको निर्वाचनमा ३० स्थान जितेको थियो।
स्थानीय चुनावमा एमालेको समग्र नतिजालाई सम्मानजनक बनाउन मधेसको ठूलो भूमिका छ। देशभरि निराशाजनक नतिजा आउँदा उसलाई मधेसले ठूलो राहत दिएको थियो। मधेसमा अरू दलका धेरै नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएर आफ्नो संगठनलाई चलायमान बनाएको थियो। २०७७ फागुन २३ मा नेकपा विघटन भएपछि मधेस प्रदेशका माओवादी केन्द्रका धेरै नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए। त्यसले गर्दा एमाले विभाजन भए पनि उसलाई धेरै असर गरेन।
एमालेलाई फाप्यो जसपासँगको तालमेल
अन्तिम समयमा जसपासँग तालमेल गर्नु एमालेका लागि फलिफाप देखिएको छ। एमाले-जसपा गठबन्धनले जसपालाई धेरै फाइदा नभए पनि एमालेलाई भने धेरै फाइदा भएको देखिएको छ।