२०८१ मंसिर ५

कांग्रेस दौड : संस्थापनइतरबाट शेखर र गगनमध्ये को ?





काठमाडौं । नेपाली कांग्रेसमा संसदीय दलको नेता छान्ने कसरत सुरु भएको छ । अहिलेको निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको छ ।

कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई नै संसदीय दलको नेता बनाउने गृहकार्य थालेको छ । देउवा नै नयाँ प्रधानमन्त्री हुने गरी तयारी गरिएको हो ।

प्रधानमन्त्री देउवाले कांग्रेसबाट नवनिर्वाचित सांसदहरूलाई नयाँ सरकारमा अवसर दिने आश्वासन बाँडिरहेका छन् । उनले सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूसँगको संवादका लागि उपसभापति पूर्णबहादुर खड्कालाई खटाएका छन् ।



Advertisement



तर, संस्थापनइतर पक्ष देउवा अब ‘फेज आउट’ नेता भएको भन्दै संसदीय दलमा उनी हार्ने विश्लेषणसहित तयारीमा जुटेको छ । आफ्नो तर्फबाट एकल उमेदवार चयनमा भने संस्थापनइतर सफल भएको छैन । जितेका सांसदहरू काठमाडौं नआइसकेकाले सामूहिक बैठक र छलफल गर्न नपाएको संस्थापनइतर पक्षले जनाएको छ ।

योबीचमा गएको बिहीबार विराटनगरबाट काठमाडौं फर्किएका नेता डा. शेखर कोइरालाले आफूनिकट व्यक्तिहरूसँग छलफल गर्न भ्याएका छन् । त्यसक्रममा उनले संसदीय दलको चुनावमा आफूले प्रतिस्पर्धा गर्ने बताएका थिए । चन्द्र भण्डारी, सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू काठमाडौं आएपछि छलफल गरी उमेदवारी घोषणा गर्ने उनको तयारी छ । 

अर्कोतर्फ, महामन्त्री गगन थापाले बिहीबार नै शेखरलाई घरमा गएर भेटेका थिए । थापाले उनलाई पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उमेदवार बन्ने गरी आफूलाई संसदीय दलमा सघाउन आग्रह गरेका थिए । तर, शेखरले संसदीय दलको चुनाव अंकगणितमा भर पर्ने भन्दै सार्वजनिक प्रचारमा नलाग्न आग्रह गरेको स्रोतले जनाएको छ ।

अंकगणितमा देउवा पक्षकै बहुमत पुग्ने अनुमान छ । तर, निर्वाचनमा उमेदवारीको टिकट पाउन देउवातिर लागेकाहरू पनि अब उनको पक्षमा नउभिने संस्थापनइतरको विश्वास छ । सोहीअनुसार शेखरलाई संसदीय दलमा जिताएर प्रधानमन्त्री बनाउन सकिने संस्थापनइतरको रणनीति छ । गगनलाई १५औँ महाधिवेशनमा सभापति बनाउन सकिने उनीहरूको मत छ ।

शेखरनिकटहरूले उनलाई संसदीय दलको तयारीमा लाग्न सुझाव दिएका छन् । आफू उमेदवार बन्ने भए गगनसँग संवाद गरेर उनलाई ‘ब्याक’ गर्न शेखरनिकटहरूले आग्रह गरिरहेका छन् ।

“हामीले डा. शोखरलाई कि आफू चुनाव लड्ने तयारीमा खुलेर लाग्नुस् र गगनलाई ब्याक गर्नुस् कि गगनलाई नै खुलेर समर्थन गर्नुस्, तपाईं मौन बस्नुभयो वा दुईजना उमेदवार हुनुभयो भने त्यसले टिमलाई र तपाईंलाई दुवैलाई क्षति पुग्छ भनेका छौँ,” शेखरनिकट एक नेताले भने, “संसदीय दलको चुनाव नेपाली कांग्रेसको राजनीतिमा एउटा टर्निङ प्वाइन्ट बन्न सक्छ ।”



आफ्नो लागि फाइदा देख्नेहरूबाहेक अब सबैले देउवाको विकल्पको खोजी सुरु गरिसकेको ती नेता बताउँछन् । “हिजो टिकट लिनका लागि देउवासँग बसेकाहरूले पनि अब देउवालाई नै प्रधानमन्त्री बनाएर कांग्रेसको साख बढ्दैन, भोलिको राजनीति पनि कांग्रेसको पक्षमा रहँदैन भनेर भन्न थालिसकेका छन्,” ती नेताले भने, “त्यसैले देउवा स्वयं संस्थापनइतरबाट दुईजना उमेदवार बनाउन सकिन्न कि भन्ने कसरतमा लागेको देखिन्छ ।”

संसदीय दलको चुनावसम्म शेखर र गगनमध्ये एक मात्र उमेदवार बन्ने र देउवा संसदीय दलबाटै बिदा हुन सक्ने ती नेताको जिकिर छ ।

कांग्रेस केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेल भने प्रत्यक्षतर्फ निर्वाचितहरूको विचार बुझ्ने काम सकिएको भन्दै समानुपातिकतर्फ निर्वाचित ‘लिस्ट’ सार्वजनिक नगर्दासम्म खुल्ने अवस्था नरहेको बताउँछन् । समानुपातिकको सूची सार्वजनिक भएर सांसदको शपथ लिएपछि बल्ल उनीहरूको ‘पोजिसन’ स्पष्ट हुने पोखरेलको भनाइ छ ।

“हिजो समानुपातिकामा पर्नका लागि देउवासँग रहेकाहरू सांसद नहुँदासम्म खुल्ने अवस्था छैन । अहिले नै खोजी गरेर पोजिसन क्लियर गर्न भनियो भने संस्थापनइतरकै व्यक्तिहरूले पनि देउवालई भोट हाल्छु भन्न सक्छन्,” पोखरेलले भने, “तर, निर्वाचन आयोगले समानुपातिकबाट निर्वाचित हुने सूची राष्ट्रपतिलाई बुझाएर सार्वजनिक गरेपछि उनीहरूले आफ्नो पोजिसन क्लियर गर्छन् ।”

शेखर कोइरालाले त्यही दिनको प्रतीक्षा गरेको उनको तर्क छ । 

संस्थापनइतरमा शेखर र गगनमध्ये एकजनाले मात्र संसदीय दलमा प्रतिस्पर्धा गर्न दबाब भने बढिरहेको उनी बताउँछन् ।

Copy link
Powered by Social Snap