२०८१ मंसिर ४

जनादेशलाई गणितीय जोडघटाउले मात्रै नहेरौँ : विश्वप्रकाश शर्मा 





झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्मा आफ्नो प्रतिनिधित्व व्यक्तिको जित नभएर परिवर्तनका पक्षमा व्यक्त अभिमत भएको बताएका छन् । गृहनगर धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै उनले चुनाव जित्नेहरु मतदाताको प्रतिनिधि पात्र मात्रै भएको स्पष्ट पारे ।

“प्रतिस्पर्धीलाई भन्दा १४/१५ हजार मतदिने व्यक्तिलाई कहिल्यै बिर्सन सकिन्नँ,“ उनले भने, “तपाईंहरुको यो विश्वासले थप आत्मविश्वास बढेको छ ।“



Advertisement




उनले मतदाता समक्ष गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे । आफू बदलिएको जनादेशको मनोविज्ञानलाई बुझेर अघि बढ्नुपर्ने पक्षमा रहेको बताएका शर्माले केही दिनअघि आफू काठमाडौं पुगेर त्यसको पेश्की भूमिका निर्वाह गरेको उल्लेख गरे । 

“लोपोन्मुख तथा अल्पसंख्यक समुदाय, महिला, मजदुर सबै व्यक्तिले देश विकासमा आआफ्नो स्थानबाट योगदान गरिरहनु भएको छ,“ झापा १ का नवनिर्वाचित सांसदसमेत रहेका शर्माले भने, “देश बनाउने काम मन्त्री र प्रधानमन्त्रीको मात्रै होइन, देश बनाउने भूमिका सबैले निर्वाह गरिरहेको हुन्छ ।“



उनले  देश बनाउने भूमिका प्रधानमन्त्रीलाई दिने पद्धति नै बदल्नु पर्नेमा जोड दिए ।  भोट दिएर जिम्मेवारी सकिने होइन, मतदाता र उपविजेताको काम कहिल्यै नसकिने बताए । “सिंहदरबार मात्रै देश होइन, सबै काम र पेशा गर्बे व्यक्ति मिलेर बसेको भूगोल नै देश हो,“ शर्माले भने, “राष्ट्र निर्माण अमूर्त चिज होइन, विदेशमा रहेकाले कमाएर पठाएको पैसाले देशको अर्थतन्त्रको धुकधुकी बचाएको छ ।“

एउटै व्यक्ति पटकपटक प्रधानमन्त्री बन्ने कुराले रुपान्तरण नहुने उनको निष्कर्ष छ । कांग्रेस पार्टी सभापतिका अघि कयौं विकल्प रहेको उनले बताए । देशमा युवा पुस्ताको नेतृत्वका लागि संसदीय दलमा छलफल घनिभूत बनाउने आफ्नो लक्ष्य रहेको उनले सुनाए । आफू सांसद, मन्त्री मात्रै होइन देशको प्रधानमन्त्री बन्ने र विकास गर्ने योजनामा रहेको उनले बताए ।

Copy link
Powered by Social Snap