२०८१ मंसिर ३

चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला




काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्धान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनको दाबी छ ।



Advertisement



अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथभ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको व्यवहार गर्ने, आफ्नो सर्वहारा वर्गीय धर्मबाट च्यूत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको उनले बताए । 

संसद्वाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु सबै नेपालबाट नामेट भएर जानेसमेत उनले बताए । नेपाल र नेपालीको हित चाहने हो भने नेपालका सम्पूर्ण कम्युनिष्टहरुको एकता र ध्रुवीकरण जरुरी भएको उनको भनाइ छ ।



नेपालका कम्युनिष्ट भन्ने पार्टीहरु प्राय साम्राज्यवादी र बिस्तारवादीहरुको चाटुकार बन्ने गरेका कारण जनतामा कम्युनिष्टप्रति वितृष्णा जागेको भन्दै कञ्चनले नेपालमा मात्र नभएर विश्वभर नै क्रान्तिकारीहरुका लागि परिस्थितिप्रतिकूल बन्दै गइरहेकाले सबै कम्युनिष्टहरुलाई एकीकृत र ध्रुवीकृत बन्न आग्रह गरे ।

Copy link
Powered by Social Snap