२०८१ मंसिर ३

चुनावी परिणामबाट निराश हुनुपर्दैन, गुम्न खोजेको शक्तिमा फर्किन सक्छौँ : प्रचण्ड





काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने बताएका छन् । 

शनिबार नेपाल राष्ट्रिय कर्मचारी महासंघको १५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै प्रचण्डले चुनावी परिणामबाट माओवादी निराश हुन नपर्ने भन्दै अहिले निराश र चिन्तित नभई आफूलाई गम्भीर भएर रूपान्तरण गर्न आवश्यक भएको बताए । उनले माओवादीले ल्याएको व्यवस्था नै अहिले भएकाले आफूहरू फेरि गुम्न खोजेको शक्तिमा फर्किन सक्ने विश्वास व्यक्त गरे ।



Advertisement



स्थानीय तहका १२२ पालिका माओवादीको कन्ट्रोलमा रहेको भन्दै प्रदेशमा ७४ को हाराहारीमै रहेको प्रचण्डले बताए । उनले संघीय संसद्मा भने आफ्नो पार्टीले सोचेजस्तो र अपेक्षा गरेजस्तो सिट नजिते पनि राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिकालाई कसैले अवमूल्यन गर्न नसक्ने दाबी गरे । 

उनले राष्ट्रिय राजनीतिमा आफूहरुको भूमिका केन्द्रीय रहेको र त्यसलाई कसैले खोस्न नसक्नेसमेत जिकिर गरे । २०६४ सालको निर्वाचनमा माओवादीले धेरै सिट जित्दा अरु पार्टी निकै सानो आकारमा पुगेको भन्दै उनले आत्मसमीक्षा गरेर मिहिनेत गरे पुनः संगठित हुन सक्ने बताए । 



माओवादी केन्द्रले सिद्धान्त र एजेन्डालाई समयसापेक्ष बनाउँदै विज्ञान र प्रविधिमा पनि ध्यान दिन जरुरी रहेको उनले बताए । माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएमा जनतालाई सुशासनको अनुभूति दिलाउने उनले प्रतिवद्धता व्यक्त गरे ।

विकास र एजेन्डाबाट मात्रै जनता खुसी नदेखिएको भन्दै चुनाव जित्न सामाजिक सञ्जालमा पनि बलियो पकड आवश्यक देखिएको प्रचण्डको टिप्पणी छ । विकासको क्रान्ति नै ल्याएको ठाउँमा पनि माओवादीका उमेदवारलाई चुनाव जित्न हम्मे–हम्मे परेको भन्दै विकास र एजेन्डा लिएर जाँदैमा चुनाव नजितिने उनको भनाइ छ । 

Copy link
Powered by Social Snap