२०८१ मंसिर ३

कांग्रेस बैठकमा भनियो– अन्तर्घात भयो, कारबाही गर्नुपर्छ : समीक्षा बैठक माग




काठमाडौं । नेपाली कांग्रेसभित्र चुनावी समीक्षा बैठकको माग गरिएको छ । यही मंसिर ४ गते भएको निर्वाचनमा कतिपय क्षेत्रमा अन्तर्घात भएको भन्दै समीक्षा बैठक माग गरिएको हो ।

शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समीक्षा बैठक माग गरिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार कतिपय पार्टी पदाधिकारीले समेत समीक्षा बैठक बोलाउनुपर्ने माग गरेका थिए ।



Advertisement



“केही साथीहरूले निर्वाचनमा अन्तर्घात भएको कुरो, अर्थात् छिटो समीक्षा बैठक बोलाउनु भनेर भने,” ती नेताले भने ।

समीक्षा बैठक माग गर्नेमा सहमहामन्त्रीद्वय महेन्द्र यादव, भीष्म आङदेम्बे, नेता विजयकुमार गच्छदारलगायत थिए । उनीहरूले निर्वाचन नतिजाको छिट्टै समीक्षा गर्नुपर्नेमा जोड दिएका थिए ।



निर्वाचनमा अन्तर्घात भएको भन्दै त्यसमा संलग्नलाई अनुशासनको कारबाही गर्नुपर्ने विषय बैठकमा उठाइएको थियो । “चाँडो बैठक राखेर समीक्षा गर्नुपर्छ, अनुशासनको कारबाही गर्नुपर्छ,” यस्तो माग गर्नेको भनाइ उद्धृत गर्दै ती नेताले भने, “अन्तर्घातको यही अवस्था रहिरह्यो भने कांग्रेस समाप्त हुन्छ भन्ने लाइन नै बोल्नुभयो ।”

जवाफमा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले शनिबारको बैठक समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगाउन बोलाइएकाले त्यसमै केन्द्रित हुनुपर्ने बताएका थिए । उनले अर्को बैठक राखेर निर्वाचनको समीक्षा गरिने आश्वासन दिएका थिए ।

Copy link
Powered by Social Snap