२०८१ मंसिर २

जहिले देउवाको इमान्दार सहयोगी भएँ, अहिले सांसद नपाएर ‘उपहार’ पाएँ




काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूचीमा नेपाली कांग्रेसका शीर्ष नेताहरूमध्येका एक गोपालमान श्रेष्ठको नाम एक नम्बरमा  थियो । तर, उनी सांसदका लागि सिफारिस भएनन् । श्रेष्ठले सभापति शेरबहादुर देउवासँगै राजनीति थालेका थिए । उनले देउवाका विश्वासपात्र बनेर पनि काम गरे । तर, अहिले श्रेष्ठले उनै देउवाबाट ‘हेपिएको अनुभूति’ गरेका छन् ।

शनिबार पार्टीको केन्द्रीय समिति बैठकबाट समानुपातिकतर्फ पार्टीबाट निर्वाचित हुनेको सूची निर्वाचन आयोगलाई सिफारिस गर्दा श्रेष्ठको नाम काटिएको छ । 

समानुपातिक सूचीमा भएकामध्ये सबैभन्दा वरिष्ठ भएर पनि आफू सिफारिस नभएपछि उनले ‘देउवालाई गरेको सहयोगबात पुरस्कार पाएको’ प्रतिक्रिया दिएका छन् ।



Advertisement



“म २०२० सालमा काठमाडौं आएर देउवासँगै राजनीति सुरु गरेको हुँ । अहिले सिफारिस गरिएकोहरूमध्ये सबैभन्दा सिनियर म नै थिएँ,” श्रेष्ठले भने, “सबै लागेर देउवालाई लखेटदा मैले नै देउवाको पक्ष लिएर संरक्षण गरेको थिएँ ।”

उनले पार्टी फूट्दासमेत आफूले देउवालाई साथ दिएको स्मरण गरे । देउवा थुनामा रहँदा पनि आफ्नै प्रयासमा उनलाई निर्विरोध सभापति बनाएको श्रेष्ठको भनाइ छ । 

“उहाँ जेल परेपछि म कांग्रेसको कार्यकवाहक सभापति भएको थिएँ । ११ औँ महाधिवेशनमा मलाई नै सभापति बन्न साथीहरूको दबाब थियो । तर, मैले राजालाई तिमीले थुनेको मान्छे हामीहरूको लोकप्रिय व्यक्ति हो भन्ने सन्देश दिनुपर्छ भनेर निर्विरोध सभापति बनाएको थिएँ,” श्रेष्ठले भने, “१३ औँ महाधिवेशनपछि मैले संगठन विभागको प्रमुख भएर काम गरेँ । संगठनमा बलियो पकड बनाएर केन्द्रीय समितिमा ८३ प्रतिशत देउवा पक्षले जितेको छ ।”

उनले चुनावी कमान्डर भएर देशभर पार्टीलाई जिताउन भूमिका निर्वाह गरेपनि त्यसको पुरस्कार देउवाले आफूलाई दिएको बताए । 



“मैले समानुपातिकमा बस्नुस् भन्ने आग्रह स्वीकार गरेँ । चुनावी कमान्डर भएर पार्टीलाई जिताउन भूमिका निर्वाह गरेँ । सभापतिमा देउवा मात्र होइन, केन्द्रीय समितिमा ८३ प्रतिशत जित्ने अवस्था निर्माण गरेँ,” श्रेष्ठले थपे, “देउवालाई सहयोग गरेको पुरस्कार पाएँ । यी सबै सहयोग गरेको पुरस्कार देउवाले मलाई सांसद नबनाएर दिनुभयो ।” 

देउवाले आफूलाई राष्ट्रियसभामा पठाउनेदेखि राष्ट्रपति बनाउनेसम्मका आश्वासन दिएको तर कुनै पनि आश्वासनमा आफ्नो विश्वास नरहेको उनको भनाइ छ । 

“राष्ट्रियसभामा पठाउँछु भनेर उहाँले अघिल्लोपटक पनि आश्वासन दिनुभएको हो । पछि अरूलाई नै बनाउनुभयो । प्रचण्डले नारायणकाजी र ओलीले बामदेवलाई संरक्षण गर्दा मलाई पखामै छोड्ने काम भयो,” श्रेष्ठले भने, “त्यसैले उहाँले दिने आश्वासनमा विश्वास गर्ने आधार रहेन ।”

देउवाको इमान्दार सहयोगी हुँदा आफूले धोका पाएको श्रेष्ठको बुझाइ छ । 

“१४ औँ महाधिवेशनमा म पनि सभापतिको आकांक्षी थिएँ । अरू साथीहरूले उहाँलाई च्यालेन्ज गरेर उमेदवारी पनि दिनुभयो,” श्रेष्ठले भने, “मैले उहाँको समर्थन लिएर मात्र उमेदवार बन्ने भनेपनि उहाँले नछोडेपछि उहाँलाई नै समर्थन गरे । त्यसलाई उहाँले कमजोरीका रूपमा लिनुभएछ ।”

Copy link
Powered by Social Snap