२०८१ मंसिर २

४ वर्षअघिको अभिव्यक्तिलाई लिएर सोविता गौतमले गरिन् पश्चाताप




२ पुस, काठमाडौं । एक पुरानो अन्तर्वार्तामा दिएको विवादित अभिव्यक्तिप्रति नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) सोविता गौतमले पश्चाताप गरेकी छन्।

चार वर्षअघि दिएको अन्तर्वार्तामा बलात्कारको घटनाबारे असंवेदनशील टिप्पणी गरेकी थिइन् । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि गौतमले थुप्रै प्रश्नको सामना गर्नु परेको छ ।


Advertisement


अधिकारकर्मी र आम नागरिक तहबाटै चर्को विरोध भएपछि गौतमले उक्त अन्तर्वार्ताबारे ट्वीटरमा स्पष्टीकरण दिंदै लेखेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घच्घच्याएको छ । अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ ।’

गौतमले अन्तर्वार्तामा ‘बलात्कार सामान्य हो । यसले महिलाको शरीलाई कुनै हानी नोक्सानी हुँदैन’ भन्नेवाक्य प्रयोग गरेकी थिइन् । त्यसका साथै बलात्कारको विषयमा महिलाहरू धेरै भावुक भएको र केहीले बलात्कारको नाममा डलर ल्याउने गरेको टिप्पणी गरेकी थिइन् ।



चार वर्ष अगाडि आफूले दिएको अभिव्यक्तिको आशय भने गलत नभएको उनको तर्क छ । तर, अहिले आफ्नो अध्ययन, अनुभवले आफ्नो बुझाइ परिष्कृत भएकोले अहिले उक्त उदाहरण प्रयोग नगर्ने उल्लेख गरेकी छन् । ‘…मेरो बुझाइ अहिले परिष्कृत भएको छ । पीडित शब्दले पनि हिंसामा पर्नेलाई असर गर्छ भनेर ‘सर्वाइवर’ वा ‘प्रभावित’ शब्द प्रयोग गर्न थालिएको छ । यसरी नै हामीले आफ्नो बुझाइको दायरा फराकिलो बनाउने हो ।’

गौतमले यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वभाविक व्यवहार गर्दा पुनर्स्थापनामा सहज हुन्छ भन्ने आशय व्यक्त गरेको तर यसैमाथि प्रश्न उठेको कुरा मनन् गरेको बताएकी छन्।

Copy link
Powered by Social Snap