काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच करिब दुईवर्षपछि फेरि सहकार्य भएको छ ।
आइतबार अपराह्न एकाएक बालुवाटारमा गठबन्धन भत्किएको केहीबेरमै बालकोटमा अर्को गठबन्धन बनेको थियो ।
नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसदको समर्थनसहित प्रचण्डले राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
Advertisement
दाबी पेस गर्नु केहीबेरअघि मात्रै नयाँ गठबन्धन बनेको थियो । भित्री गृहकार्य केही दिनदेखि भइरहेको भए पनि बालकोटमा दिउसोमात्रै चार दलका शीर्ष नेताको बैठक बोलाइएको थियो ।
त्यसपछि बाँकी दल र स्वतन्त्र सांसदलाई बोलाइएको थियो ।
कांग्रेस उच्च स्रोतले दिएको जानकारीअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई प्रचण्ड र माधव नेपालसँग अहिलेको अवस्थामा सहमति हुनै नसक्ने हुँदा अडान नछाड्न सन्देश पठाएका थिए ।
देउवा निकट एक मन्त्रीमार्फत ओलीले यस्तो सन्देश पठाएको स्रोत बताउँछ ।
“अहिले एमालेले माओवादी र नेकपा एससँग कुनै पनि हालतमा सम्झौता गर्दैन, कांग्रेस आफ्नो अडानबाट पछि हटेन भने ७६(३) अनुसार बनेको सरकारलाई एमालेले समर्थन गर्नेछ,” ओलीको भनाई उद्धृत गर्दै एक नेताले भने ।
त्यसैले पनि सभापति देउवा अन्तिम समयसम्म पनि आफ्नो अडानबाट पछि नहटेको ती नेता बताउँछन् ।
सभापतिले पार्टीभित्रैबाट दबाब परेको भनेर प्रचण्डलाई भने पनि ओलीको आश्वासन पाएर त्यसो भनेको हुन सक्ने ती नेताको टिप्पणी छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि सभापति देउवालाई त्यस्तो कुनै दबाब पार्टीभित्रबाट नपरेको बताएका छन् ।
कुरा गर्दै भने, “मैले अन्तिम समयसम्म पनि यो गठबन्धन कायम राख्नुपर्छ । अरु सोच्दै नसोच्नू भनेर भनेको थिएँ, तर सभापतिलाई कसले के भन्यो थाहा भएन । अन्तिम समयसम्म पनि माओवादीलाई केही दिन सकिन्न भन्ने उहाँको धारणा रहेको थियो ।”
पौडेलले पार्टीमा हिजो बेलुकासम्म माओवादीलाई पनि विश्वासमा लिएर एउटा पद लिएर जानुपर्छ भनेका नेताहरु बिहान दिनुहुँदैन भन्ने अवस्थामा पुगेको बताए ।
“हाम्रै पार्टीका केही नेताहरु हिजो बेलुकासम्म मैले भनेको कुरामा सहमत थिए तर बिहान माओवादीलाई केही दिनुहुँदैन भन्ने अडान राख्न पुगेका थिए, खै कसरी भनेको हुन् ?,” पौडेलको भनाई थियो ।
उनले आफूलाई राष्ट्रपतिबाट रोक्न पार्टीभित्रैबाट पनि चलखेल भएको हुन सक्ने आशंका गरे ।
“पार्टीभित्रै पनि मलाई पाखा लगाउनुपर्छ भन्नेहरु देखिए,” उनले भने, “यसले कांग्रेसलाई नै घाटा लागेको छ ।”
प्रधानमन्त्री देउवा निकट एक नेताले अनौपचारिक कुराकानीमा प्रचण्डले पनि ‘पछिल्ला केही दिनदेखि नमिल्नेमात्रै कुरा गरिरहेको’ बताए ।
“माओवादीलाई राष्ट्रपति छाडिदिन प्रधानमन्त्री तयार हुनुभएको थियो, त्यसबेला प्रचण्डले अग्नि सापकोटाको नाममा अहिले नै सहमति गर्नुपर्छ भन्नुभयो, त्यो अलि अप्ठेरो कुरा थियो,” ती नेताले भने, “अग्नि सापकोटाको बारेमा पहिले नै सहमति गर्ने अवस्था थिएन । अन्य केही त्यस्ता नाम ल्याउनुभएको थियो जो स्वीकार गर्न सकिने अवस्थै थिएन ।”
उनका अनुसार प्रचण्ड पनि यो गठबन्धन भत्कियोस् भन्ने अवस्थामा पुगेका थिए ।
“कांग्रेसको पनि राजनीतिक इन्जिनियरिङ फेल देखियो,” उनले भने, “एमाले र माओवादीबाहेकका शक्तिलाई पनि विश्वासमा त लिनुपर्थ्यो । त्यो पनि गर्न सकिएन । त्यहाँ पनि कमजोरी देखियो । फेरि एमालेको आश्वासन पनि सहजै पत्याउने काम भयो कि जस्तो लाग्छ ।”
माओवादीका एक नेताले दिएको जानकारीअनुसार प्रचण्डलाई प्रधानमन्त्री बनाउन केही दिनदेखि वर्षमान पुन दैनिक बालुवाटार पुगेर सन्देश दिइरहेका थिए ।
“वर्षमान पुनले शनिबार दिउसो पनि प्रधानमन्त्रीलाई भेटेर प्रचण्डलाई प्रधानमन्त्री नबनाउने हो भने गठबन्धन तोड्ने जानकारी गराएका थिए,” ती नेताले भने ।
तर देउवाले प्रधानमन्त्री कुनै पनि हालतमा नछाड्ने अडान लिएका थिए ।
देउवाले पहिलो चरणमा आफू प्रधानमन्त्री भएर दोस्रो चरणमामात्रै माओवादीलाई छाड्ने अडानमा रहेका कारण सहमति हुन नसकेको माओवादीका एक नेताको टिप्पणी छ ।
“उहाँले पार्टीबाटै दबाब आयो भन्नुहुन्थ्यो,” माओवादीको ती नेताले भने, “पार्टीका नेताहरुको दबाबका कारण अहिले नेतृत्व छाडन् नसकिने पटक पटक जानकारी गराउनुभयो ।”