२०८१ मंसिर ३

संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउँछु : रामसहायप्रसाद यादव





काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसद्मा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन् । 


Advertisement


बुधवार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसद्मा सशक्त ढंगले उठाउने बताएका हुन् । 

“पार्टीको जे एजेण्डा छ, जे दृष्टिकोण छ, विचार र सिद्धान्त छन् त्यसलाई संगठित रुपले हामीले उठाउनुपर्ने ठाउँमा उठाउनेछौँ”, उनले भने, “पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रुपले निर्वाह गर्नेछौँ ।” 



उनले जसपा वर्तमान परिवर्तन र संघीयताको बाहक भएको भन्दै आफूहरुले उत्पीडित समुदायको माग र मुद्दालाई उठाउने बताए । मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, थारु, खस र महिला लगायतका समस्याहरुको सम्बोधन गर्न प्रयास गर्ने पनि बताए ।

उनले संसदीय दलको नेताको रुपमा पार्टीको विधान र पार्टीको निर्देशन अनुरुप संसदमा भूमिका खेल्ने बताए । नेता यादवले पार्टी सरकारमा जाने, नजाने भन्ने विषयमा पार्टीको कार्यकारिणी समिति र राजनीतिक समितिको बैठकले निर्धारण गर्ने स्पष्ट पारे । 

बारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव बुधवार पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । एउटा मात्रै उम्मेदवारी दर्ता भएपछि दलको नेतामा उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो ।

Copy link
Powered by Social Snap