२०८१ मंसिर ३

प्रदेश-१ कांग्रेस संसदीय दलको चुनावमा अमृत अर्याललाई समर्थक र प्रस्तावकले नै मत नदिएपछि …




नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको शुक्रबार भएको चुनावको नतिजा पहिलो चरणमा नतिजा नआउने अनुमान कांग्रेस वृत्तमै थियो।

संस्थापन पक्षबाटै दुई जना उम्मेदवार भएको र संस्थापनइतर समूहका उम्मेदवारका पक्षमा बहुमत पुग्ने अवस्था नदेखिएका कारण चुनाव दोस्रो चरणमा जाने अनुमान थियो। तर, नतिजा पहिलो चरणमै आयो। संस्थापन पक्षका कृष्णप्रसाद सिटौलानिकट झापाका उद्धव थापा १८ मत पाएर दलको नेता चुनिए।


Advertisement


शेखर कोइरालानिकट केदार कार्कीले आफ्नो समूहको शतप्रतिशत अर्थात् ९ मत पाएर दोस्रो भए।

संस्थापन पक्षमा पनि सभापति शेरबहादुर देउवानिकट मानिने मोरङका अमृत अर्याल भने आफ्नै समर्थक र प्रस्तावकको मत पाउनबाटै विफल देखिएका छन्।

संसदीय दलको नेताका लागि उम्मेदवारी दिने क्रममा अर्यालको प्रस्तावक डोल्मा तामाङ र समर्थक सुनिताकुमारी चौधरी थिए। समर्थक र प्रस्तावकको मत आएको भए उनले आफूसहितको ३ मत पाउने सम्भावना हुन्थ्यो। तर, समर्थक र प्रस्तावकमध्ये एक जनाले मात्रै मत दिँदा उनले जम्मा दुई मत मात्रै पाएका हुन्।

प्रदेशको संसदीय दलमा सबभन्दा धेरै संख्या संस्थापन पक्षको देउवा समूहको थियो।
कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै थियो।

देउवा पक्षमा ११ सांसद थिए। सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना थियो।

मतदानका क्रममा अर्यालले आफ्नो समूहको त कुरै छाडौं, समर्थक –प्रस्तावककै पनि मत पाएनन्।



नतिजालगत्तै संक्षिप्त प्रतिक्रिया दिने क्रममा अर्यालले ‘स्वाभाविक लोकतान्त्रिक अभ्यास’ भनेका छन्।

उनी निकट नेताहरूका अनुसार संसदीय दलमा सभापति देउवा निकटका सबैजसो सांसदले प्रदेश सभापतिसमेत रहेका थापालाई सघाएका थिए।

‘प्रदेश १ मा देउवा समूहका मुख्यमध्ये हिमाल कार्कीसहितका नेताहरू हुन्’, स्रोतले भन्यो ‘उनीहरू नै थापाको पक्षमा उभिए। केन्द्रबाट पनि कुनै हस्तक्षेप भएन। त्यसैले आफ्नै समूहको मत पनि हामीलाई आएन।’

अर्याल निकटहरूले सभापति देउवाले सिटौलाको कुरा सुनेर आफ्नो पुराना सहयोगीलाई धोका दिएको आरोप लगाएका छन्।

‘कुरा प्रष्टै छ नि, सिटौलाले सभापतिलाई विश्वासमा लिएर थापाको पक्षमा मतदान गर्न लगाए’, ती नेताले भने ‘त्यही भएर समर्थक र प्रस्तावककै मत पनि आएन।’

अर्याल समूहले आफूलाई समर्थन गर्ने सुनिताकुमारी चौधरीबाट पनि धोका भएको जनाएको छ। सुनिता कांग्रेस नेता विजय गच्छदारको परिवारकै सदस्य भएका कारण मत नआएको यो समूहको भनाइ छ।

Copy link
Powered by Social Snap