२०८१ मंसिर ३

प्रधानमन्त्रीलाई सचिवहरूले सुनाए समस्या र योजना




काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग मन्त्रालय र विभिन्न निकायका नेतृत्वमा रहेका नेपाल सरकारका सचिवहरूले समस्या र योजनाबारे ब्रिफिङ गरेका छन् । सोमबार ११ बजेदेखि सुरु भएको प्रधानमन्त्रीसँग सचिवहरूको ब्रिफिङको कार्यक्रम मंगलबार पनि जारी रहने भएको छ । 


Advertisement


प्रधानमन्त्री दाहालसँग सचिवहरूको पहिलो दिनको बैठकमा १८ मन्त्रालयका सचिवहरूसँग काम कसरी भइरहेको छ भन्नेबारे ब्रिफिङ लिएका थिए ।

‘मन्त्रालयका सचिवहरूको ब्रिफिङका लागि प्रत्येक सचिवहरूले ५-७ मिनेट समय छुट्याइएको थियो । मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । १८-१९ मन्त्रालयका सचिवहरूले आफ्ना कुरा राख्नुभएको छ । बाँकी मन्त्रालय र आयोगहरूका सचिवले ब्रिफिङ गरेपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम रहेको छ,’ एक सचिवले भने ।



प्रधानमन्त्री दाहालका सहयोगी सूर्यकिरण शर्माले प्रधानमन्त्रीसँग सचिवहरूको बैठकबारे भने, ‘मन्त्रालयमा भइरहेका काम कारबाहीको बारेमा कुराहरू राख्नुभयो । भइरहेका प्रगति विवरण तथा समस्याबारे प्रधानमन्त्रीसँग सचिवहरूले ब्रिफिङ गर्नुभएको छ ।’ सचिवहरूले मन्त्रालयमातहतका कार्यक्रम र भौतिक पूर्वाधार तथा योजनाको प्रगति विवरणबारे पनि प्रधानमन्त्रीसँग सचिवहरूले ब्रिफिङ गरेको शर्माले जानकारी दिए ।

सचिवहरूको ब्रिफिङ प्रस्तुत गर्ने क्रम सकिएपछि प्रधानमन्त्री दाहालले मंगलबार निर्देशनात्मक सम्बोधन गर्ने कार्यतालिका छ ।

तेस्रो पटक प्रधानमन्त्रीमा चयन भएपछि दाहालले पहिलो पटक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍ कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूबाट काम र योजनाबारे ब्रिफिङ लिएका हुन् ।

सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री दाहालले विभिन्न मन्त्रालय र निकायको कामकारबाही जानकारी लिने काम सुरु गरेको नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले जानकारी दिए ।

Copy link
Powered by Social Snap