नेकपा एमालेका नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त कार्की झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
Advertisement
प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई आइतबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्।
एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तिका लागि समर्थन दिएका थिए।
प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब ६० जनाको समर्थनमा कार्कीको दाबी पेश भएको थियो। सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख पर्शुराम खापुङले आज ५ बजेसम्मको समय दिएका थिए। सो समय अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए।
मुख्यमन्त्री कार्कीको सपथ भने भोलि मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कार्कीले भोलि नै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन्।