काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र पुनर्निर्माण आवश्यक भएको बताएका छन् ।
Advertisement
आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले यो केन्द्रीय समिति बैठकले साँचो अर्थमा कम्युनिष्ट पार्टी निर्माणका लागि पुनर्निर्माणको थालनी गर्नुपर्ने बताए । पार्टीभित्र नेता कार्यकर्ता र विशाल समिति संरचना भए पनि माओवादी पार्टी पार्टीजस्तो नभएको गुनासो गरे ।
“देशको राजनीतिमा देखिएको विभिन्न र विचारको परिवेशका बारेमा, विगतको समीक्षा गर्ने र आउने दिनमा एक्सन ओरेन्टेड भएर जानु आवश्यक छ,” प्रचण्डले बैठकलाई सम्बोधन गर्दै भने, “मैले बेला मौकामा भन्ने गरेको छु, नेता कार्यकर्ताको विशाल समिति छ, पार्टी चाहिँ पार्टी जस्तो भएको छैन । साँचो अर्थमा कम्युनिष्ट पार्टी बनाउन पुनर्निर्माणको थालनी गर्नुछ ।”
उनले पार्टीको नेतृत्वमा भएको गठबन्धनको सरकारले सकारात्मक र रचनात्मक पक्षमा नयाँ संकल्पको साथ अघि बढ्ने पहल गरिरहेको बताए । केन्द्रीय समिति बेठकले यसलाई अझ व्यस्थित गर्ने र अझ सहज बनाउने विश्वास आफूमा भएको जिकिर गरे ।