काठमाडौँ । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्थामा सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ ।
‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तरक्रियामा कृषि, पर्यटन, ऊर्जा, जलश्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलश्रोत र बाणिज्यसहित विज्ञिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए ।
Advertisement
कार्यक्रमका प्रमुख वक्ता विभाग प्रमुख एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले स्वदेशमै अवसर सिर्जना गरी योग्य श्रमशक्ति पलानयको चक्रलाई रोक्नुपर्ने बताए । औद्योगीकरणमार्फत रोजगारी सिर्जना गरेर कामका लागि युवा विदेशिने क्रम रोक्नुपर्ने उनले बताए ।
पुनले कमजोर व्यवस्थापन, सुशासनको अभाव, उपयुक्त नीति र अनुगमनको अभावमा धारासायी बन्दै गएका सार्वजनिक संस्थान बचाउन सरकारको ध्यान जानुपर्ने उल्लेख गरे ।
पुनले नेपालमा केही पनि हुँदैन भन्ने गलत भाष्य स्थापित हुन खोजेको भन्दै गरे के हुँदैन भन्ने आत्मविश्वास जगाउन जरुरी रहेको बताए । आफूले अर्थमन्त्री भएका बेला केही उदाहरणीय काम गरेर देखाएको स्मरण पनि पुनले गरे ।
आफू अर्थमन्त्री भएका बेला समस्याग्रस्त अवस्थामा रहेका सरकारी स्वामित्वका नेपाल बैंक, कृषि विकास बैंक र बाणिज्य बैंकलाई बचाउन भूमिका खेलेको स्मरण उनले गरे । तत्कालीन अवस्थामा करिब बन्द हुने अवस्थामा रहेकी तीनवटै सरकारी बैंकलाई पुँजी वृद्धि गरेर जोगाइएको स्मरण पुनले गरे । हाल कमजोर अवस्थामा रहेका सार्वजनिक संस्थान बचाउन पनि केही न केही नयाँ नीतिमा फड्को हाल्नुपर्ने उनको जोड थियो ।