प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिदेखि संसदको अवरोध हट्ने बताएका छन्।
स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने बताएका हुन्।
Advertisement
संसदको अवरोध हटाउने विषयमा आज साँझसम्म प्रयास बढाउने उनले बताए। अवरोध हटाउन आफूले विगतदेखि नै भरमग्दुर प्रयास गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।
यसका लागि राष्ट्रपति, सभामुख र गठबन्धनमा पनि छलफल भएको उनले बताए।
‘हिजोमात्रै बालुवाटारमा सभामुखसँग छलफल गरेँ। आज बेलुकासम्म प्रयास बढाउँदै छौं । आशा गरिएको छ भोलि खुल्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
साउन २९ गते बसेको प्रतिनिधि सभा बैठकमा एमालेले नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले भदौ ३ गते बस्नेगरी त्यस दिनको बैठक स्थगित गरेका थिए।
त्रिभुवन विमानस्थलबाट बाहिरएको ६० किलो सुन प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरूद्ध गर्दै आइरहेको छ।