२०८१ मंसिर १

रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : मीन विश्वकर्मा




काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् ।


Advertisement


मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो टिप्पणी गरेका हुन् । पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका नेता विश्वकर्माले नेपाली कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे ।

समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उनको भनाइ थियो । नेता विश्वकर्माले नेपाली कांग्रेस प्रचारमा नभई जनताको सेवा गर्ने काममा केन्द्रित भइरहेको बताए ।




उनले भने, “समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । यति फरक छ । हाम्रो पार्टी समाजमै छ । र, केही पार्टी सामाजिक सञ्जालमा छन् । यसलाई हामीले यसरी बुझेका छौँ । हामीले के बुझेका छौँ भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने ? यसैका लागि हामीले के भन्यौं भने अब यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊनै बेच्ने भन्ने कुरा हो । घिउ जस्तै बेचेका साथीहरूसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो ।”

Copy link
Powered by Social Snap