२०८१ मंसिर ६

नेम्वाङको निधनमा देशभरका आफ्ना कार्यालयहरूमा एमालेले झन्डा आधा झुकाउने




काठमाडौँ — उपाध्यक्ष सुवास नेम्वाङको निधनमा एमालेले देशभर रहेका आफ्ना कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ । मंगलबार बिहान आकस्मिक रूपमा बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै उक्त निर्णय गरेको हो ।


Advertisement


बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गर्दै सचिवालय बैठकले पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालयहरू र उनको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राखिने निर्णय गरेको जानकारी दिए ।



त्यस्तै उनले एमालेसम्बद्ध सबै संगठनहरूको औपचारिक कार्यक्रम स्थगित गर्ने र आगामी असोज २ गते नेम्वाङको सम्मानमा पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा गर्ने निर्णय भएको पनि जानकारी दिए । मंगलबार बिहान बसेको सचिवालय बैठकमा सुवास नेम्वाङ बस्ने कुर्सीमा माला र फूल राखिएको थियो ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार अन्त्येष्टि गरिने जनाइएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

Copy link
Powered by Social Snap