सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजना अन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः शुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युतगृहको काम अवरुद्ध भएको थियो ।
मजदुरको माग बमोजिम निर्माण कम्पनीले २ सय १७ जनाको पिसिआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए । “एक जना चालकमा कोरोना सङ्क्रमण देखिएपछि सबै मजदुरको पिसिआर गर्नुपर्ने माग सहित काम बन्द गरेका थियौ, सबैको पिसिआर परीक्षण पश्चात् रिपोर्ट नेगेटिभ आएपछि काम शुरु गरेका छौ,” उनले भने । सिनो हाइड्रो कम्पनीले परीक्षणको व्यवस्था गरेको थियो ।
Advertisement
एक सय चालिस मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।
एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ । दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रशारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रशारण लाइनका लागि चालु आर्थिक वर्षमा ३० वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइनका लागि कूल ९४ वटा टावर निर्माण गरिनेछ । प्रशारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पहिलो प्याकेज अन्तर्गतका कामका लागि तीन वटा कम्पनीको बोलपत्र परेको र ती बोलपत्र उपर मूल्याङ्कनको काम भइरहेको आयोजनाले जनाएको छ । पहिलो प्याकेज अन्तर्गतका कामका लागि लार्सन एण्ड टर्बो इन्डिया, चाइना गेजुवा कम्पनी र सोङ्दा भियतनाम÷कालिका जेभीले बोलपत्र पेश गरेका थिए । पहिलो प्याकेज अन्र्तगत एक सय चालिस मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिनेछ ।
आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगत विद्यृतगृह निर्माण गरिनेछ । खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ ।
आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रशारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने छ ।
साभार: रातोपाटी