काठमाडौं । उखु किसानको आन्दोलनमा प्रतिपक्षी दलहरु नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले ऐक्यवद्धता जनाएका छन् । काठमाडौंको माइतीघरमा भइरहेको किसानहरुको आन्दोलनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा र जसपाका नेताहरु पुगेर ऐक्यवद्धता जनाएका हुन् । नेताहरुले किसानसँगै धर्नामा बसेर आन्दोलनमा ऐक्यवद्धता जनाए । सो क्रममा काँग्रेस प्रवक्ता शर्माले किसानहरु उखुको मोल खोज्न नभई सरकार खोज्न आएको बताए ।
उखु उद्योगीले आफ्नो व्यक्तिगत समस्या देखाउँदै भुक्तानी नदिएपनि सरकारले भुक्तानी दिलाउन तत्परता देखाउनुपर्ने प्रवक्ता शर्माले बताए । यस्तै अहिले सरकारमा बस्नेहरुले कमिसनलाई चिन्ने तर किसानलाई नचिन्ने गरेको बताए । चुनावको बेला किसान र मजदूरलाई साथमा लिएर सरकारमा पुगेका मन्त्रीहरुले अहिले तिनै किसानहरुलाई नचिनेको बताए । प्रदर्शनमा आउने किसानहरु किसान नै होइनन भन्ने मन्त्रीको भनाई सरकारको आधिकारिक धारणा हो वा होइन भन्दै प्रश्न समेत गरे ।
किसानको आन्दोलनलाई ऐक्यवद्धता जनाउन पुगेका जसपाका नेताहरुले चिनी मिलका सञ्चालकहरुलाई गिरफ्तार गरेर भएपनि किसानको पैसा दिलाउनुपर्ने बताएका छन् । जसपा नेता नवराज सुवेदीले किसानले लिनुपर्ने बाँकी रकम मिल सञ्चालकलाई कारबाही गरेर भएपनि भुक्तानी गराउन सरकारले तत्परता देखाउनुपर्ने बताए । सरकारले छिटोभन्दा छिटो किसानका माग पुरा नगरे आफुहरुले देशभरका किसानलाई राजधानीमा उतार्ने चेतावनी समेत दिए ।
Advertisement
जनता समाजवादी पार्टीको किसान माहासंघ पनि आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगेको थियो । महासंघका केन्द्रीय सदस्य आनन्दराम फुयालले अहिलेको सरकार लोकतान्त्रिक हो भनेर गर्व गर्ने ठाउँ समाप्त भएको बताए । सरकार दलालहरुको हो भन्ने कुरा पछिल्ला अभिव्यक्तिहरुबाट पुष्टि भइसकेको पनि उनले बताए ।
उखुको भुक्तानी माग गर्दै आन्दोलनमा सहभागी हुँदै आएका सर्लाहीका उखु किसान गजेन्द्रप्रताप सिंहले सरकारले किसानप्रति गरेको व्यवहार सकारात्मक नभएको बताए । किसानले कपडा लागाएर आन्दोलन गर्दा सरकारले विचौलिया देखेको भन्दै दुःख व्यक्त गरे । उद्योगीहरुले ठेक्कापट्टाका लागि लिएको ऋण उखुबाट उत्पादन भएको चिनी विक्री गरेको रकमबाट तिर्ने तर किसानलाई भुक्तानी नदिने प्रवृतिले आफुहरु मारमा परेको पनि बताए ।
उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतबार यता काठमाडौंको माइतीघरमा आएर आन्दोलन गरिरहेका छन् । चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग गर्दै उखु किसानहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
साभार: रातोपाटी