२०८१ आश्विन ३

राजतन्त्रको पक्षमा ललितपुरमा प्रदर्शन

३ पुस,  काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापनाको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार ललितपुरमा प्रदर्शन गरेको छ । कुपन्डोलबाट शुरु भएको मोटरसाइकल र्‍याली पुल्चोक, जाउलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो ।

राप्रपा ललितपुरको आयोजनामा भएको प्रदर्शनका सहभागीले ‘जनता आऊ, राजा ल्याऊँ, देश बचाऔं, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र कायम गरौं, धर्म संस्कृति मास्न पाइदैन, जनताको परिवर्तनको चाहनालाई स्वीकार गर’ जस्ता नारा लगाएका थिए ।


Advertisement


लगनखेलमा आयोजित सभामा राप्रपा नेताहरुले जनताको स्वस्फूर्त प्रदर्शनलाई लाञ्छना लगाउने, कमजोर साबित गर्न खोज्ने तत्वलाई जनताले पराजित गरिछाड्ने बताएका थिए ।

राप्रपा केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिका सदस्य नेता श्याम तिमल्सिनाले नेपाल अहिले परिवर्तनको संघारमा रहेको, जनतामा परिवर्तनको तीब्र चाहना देखिएको र राप्रपा जनआवाजलाई संश्लेषण गरेर अघि बढिरहेको बताए ।

नेतृ रोशन कार्कीले संगठित र योजनाबद्ध धर्म परिवर्तनले नेपालको पहिचान र राष्ट्रियता संकटमा पर्दै गएको र यो धर्म निरपेक्षताकै दुष्परिणाम भएको बताइन् ।

अर्का केन्द्रीय सदस्य निरञ्जनविक्रम थापाले राजसंस्थाको पक्षमा हाल देशभर भइरहेको प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता देखिनु सकारात्मक भएको बताए ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap