२०८१ आश्विन ४

विनोद चौधरी को एग्रेशन र एक्वायर नीति : नविल निरन्तर ‘नम्बर वान’ रहने

काठमाडौं । नेपालको वित्तीय बजारमा लामो समय नाफालगायतका विभिन्न सूचकहरुमा ‘नम्बर वान’का रुपमा एकछत्र राज गरेको नविल बैंकको ताज अब खोसिने भएको छ ।

मर्जर तथा एक्वायर र आक्रमक बजार विस्तारका कारण एनआइसी एशिया र ग्लोबल बैंकले समेत विभिन्न सूचकहरुमा नविललाई उछिनिसकेका छन् ।

नविल बैंक र त्यसका सबैभन्दा ठूला लगानीकर्ता फोर्ब्सले सूचिकरण गरेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले यी बैंकले नविललाई कहिल्यै जित्लान् भनेर सोचेकै थिएनन् ।


Advertisement


एकातिर नविलले कहिल्यै प्रतिस्पर्धा नगरेका बैंकहरुसँग अब नम्बर वानको बिरासत जोगाउन प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ ।

अर्कातिर सँधै प्रतिस्पर्धा गर्दै आएका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक आपसमा गाभिनका लागि अन्तिम तयारी गरिरहेका छन् । नविल बैंकका लागि सबैभन्दा ठूलो चुनौति हुनेछ इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर ।

नविल बैंक मर्जर वा एक्वायरमा नजाने हो वा विदेशी साझेदारी नभित्र्याउने हो भने मर्जरपछि बन्ने ‘नेपाल हिमालयन इन्भेष्टमेन्ट बैंक’लाई सायद कहिल्यै भेट्ने छैन । र, बजार रणनीति परिवर्तन नगर्ने हो भने नविलले नपत्याएका धेरै बैंकले उछिन्ने निश्चित छ ।

अहिलेसम्म मर्जर वा एक्वायरमा सहभागी नभएको, विदेशी संयुक्त लगानी नभित्र्याएको र आक्रमक भन्दा पनि आफ्नै शैलीमा बजार विस्तार गरिरहेको नविल बैंक अब के गर्छ ? यो आजको वित्तीय बजारको निकै ठूलो चासोको विषय हो ।

नविल बैंकको निर्णयमा सबैभन्दा ठूलो भूमिका राख्ने लगानीकर्ता विनोद चौधरीलाई क्लिकमाण्डूले सोधको छ- नविलले कस्तो रणनीति बनाइरहेको छ ?

चौधरी अब नविल बैंक आक्रमकरुपमा प्रस्तुत हुने बताउँछन् ।

‘नविलले डिजिटल र टेक्नोलोजीको भरपूर उपयोग गरेर आक्रमकरुपमा अघि बढ्ने रणनीति अबलम्बन गरिसकेको छ,’ चौधरीले क्लिकमाण्डूसँगको विशेष कुराकानीमा भने, ‘हामीले केही समयअघि शुरु गरेको डिजिटल अर्थात् डिजी बैंक नयाँ रणनीतिको संकेत हो ।’

नेपालको मात्रै होइन विश्वकै बैंकिङमा क्षेत्र अहिले ठूलो परिवर्तन हुन थालेको उनको बुझाइ छ ।

‘पहिले धेरै शाखा भएको बैंकलाई सबैभन्दा ठूलो मानिन्थ्यो भने अहिले त्यो अवस्था छैन, अब शाखारहित बैंकिङमा जान थालिएको छ, अब ब्राञ्च नै बैंकलाई टाउको दुखाइ बन्ने वाला छ,’ उनले भने, ‘अब नविल बैंकले आफूलाई रि-इन्जिनियरिङ गर्नुपर्ने अवस्था पक्कै पनि आएको छ ।’

नविलले डिजिटलमा ठूलो परिवर्तन गर्न लागेको उनको भनाइ छ ।

‘व्यवस्थापनमा होस् वा बिजनेश प्राक्टिसमा नै किन नहोस् हामी डिजिटल र टेक्नोलोजीको भरपूर उपयोग गरेर अघि बढ्छौं,’ चौधरीले थपे, ‘कतिपय अवस्थामा आफ्नो बोझले आफैंलाई थिच्न सक्छ । त्यसैले अब नविल स्लिम, ट्रिम, एफिसेन्स, मोस्ट मोर्डन र एजाइल बनाउँदै छ । र, नविलले आफूलाई त्यहीरुपमा रिडिफाइन गर्नेछ ।’

गभर्नेन्सका हिसाबले, बैंकिङ अभ्यासका हिसाबले नबिल बैंक नेपालकै उदाहरणीय र सबैले गर्व गर्न लायक बैंक भएको उनको भनाइ छ । आजका दिनसम्म पनि राष्ट्रिय वाणिज्य बैंकपछि नाफामा सबैभन्दा अगाडि रहेको र भोलिका दिनमा पनि नम्बर वान रहिरहने उचौधरी बताउँछन् ।

‘व्यापारको आकार र नाफा जहिल्यै परिवर्तन भइरहने विषय हो,’ उनले भने ।

तर, अन्तर्राट्रिय बैंक तथा वित्तीय संस्थाहरुसँग साझेदारी नगरिकन अहिलेसम्म नम्बर वान भइरहेकोमा नविल बैंकमाथि म ठूलो गर्व गर्छु,’ उनले भने, ‘नविल विशुद्ध नेपाली हो । र, त्यही व्यवस्थापनले नबिल बैंकलाई लामो समयदेखि शीर्ष स्थानमै राख्यो ।’

अहिले धेरै बैंकहरु मर्ज गरेरै आकारमा ठूलो भएको अवस्थामा नविलका अगाडि सबै विकल्पहरु खुल्ला रहेको चौधरीले बताए ।

‘हाम्रा सामू सबै विकल्पहरु खुल्ला छन्, हामी नविललाई यही नै रुपमा अगाडि बढाउँछौं भन्ने छैन । तर शुद्ध नेपाली बैंकिङ संस्थाकारुपमा विकास गर्दै लैजाने हो,’ चौधरीले भने, ‘कुनै विदेशीसँग साझेदारी गर्ने वा कुनै संस्थालाई प्राप्ति गरेर अघि बढ्ने भन्ने विकल्प माथि अहिले अध्ययन गरिरहेका छौं ।’

राष्ट्र बैंकले बैंकहरुलाई मर्जरमा जान दबाब दिएपछि नविल बैंकले पनि मर्जरको प्रतिवद्धता राष्ट्र बैंकलाई बुझाइसकेको छ । यद्यपि बजारले अनुभव गर्नेगरी मर्जर वा एक्वायरको छलफल भने गरेको देखिँदैन ।

तर, व्यवसाय विस्तारमा भने आक्रमक शैली अपनाउने उनको भनाइ छ ।

‘नयाँ सोच र प्रविधिको प्रयोग गरेर हामीले आक्रमक रुपमा बजार विस्तारको रणनीति अबलम्बन गरेका छौं,’ उनले भने ।

Credit: CLICKMANDU

Copy link
Powered by Social Snap