७ माघ, काठमाडौं । बुधबार सेयर बजार आधा हरियो आधा रातो देखिएको छ । बैंकिङ, होटल, व्यापार र उत्पादन समूह घटेर राताम्मे देखिएका छन् भने अन्य समूह बढेर राताम्मे देखिएको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स तथा निर्जिवन बिमा कम्पनीहरुको सेयर मूल्य बढ्दा समग्रमा बजार नै उकालो लागेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक १५ दशमलव ८७ अंकले उकालो लागेर २ हजार ३ सय ४२ दशमलव ७६ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१८ अंकले उकालो लागेको छ ।
Advertisement
बुधबार नेप्सेमा सूचिकृत २११ कम्पनीको सेयर खरिदबिक्री भएका छन् । दिनभर भएका ५३ हजार ३१४ कारोबारबाट १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ६ अर्ब २१ करोड ९ लाख ६६ हजार २६ रुपैयाँ पुगेको छ ।
होटलका लगानीकर्ताले धेरै गुमाए
परिसूचक दोहोरो अंकले वृद्धि हुदा पनि धेरै कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् । नेप्सेमा कारोबार हुने सब इन्डेक्स मध्ये सबैभन्दा धेरै होेटल समूह ओरालो लागेको छ । होटल २२ दशमलव ७७ अंकले घटेको छ भने व्यापार ८.९२ अंकले र बैंकिङ २.४३ अंक्ले ओरालो लागेको छ ।
उत्पादनमूलक ६२.९४ अंकले र अन्यमा रहेका कम्पनीहरुको मूल्य ११.७७ अंकले ओरालो लागेको छ । धेरै कमाउनेमा भने बिमा, फाइनान्स र जलविद्युत कम्पनीहरु देखिएका छन् ।
सबैभन्दा धेरै जीवन बिमा समूह ७२९.३७ अंकले उकालो लागेको छ । फाइनान्स कम्पनी ४५.९६ अंकले उकालो लाग्दा जलविद्युत् ५४.५९ अंकले र निर्जिबन बिमा समूह १८५.९८ अंकले बढेको छ ।
१५ कम्पनीको सेयर मूल्य अत्यधिक बढ्यो
बुधबार कारोबार भएका २११ मध्ये १५ कम्पनीहरुको अत्यधीक कारोबार भएको छ । यी कम्पनीहरुको सेयर मूल्य सर्किट ब्रेक नजिकसम्म पुगेका थिए । १० प्रतिशत मूल्य घटबढ भएमा सर्किट ब्रेक लागेर कारोबार बन्द हुने व्यवस्था । यी कम्पनीहरुको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा माथि पुगेर रोकिएका छन् ।
सबैभन्दा धेरै बढ्नेमा बेस्ट फाइनान्स पहिला नम्बरमा देखिएको छ । जसको सेयर मूल्य ९.९४ प्रतिशतले उकालो लागेको छ । दोस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९३ प्रतिशत र तेस्रोमा ग्रीन डेपलपमेन्ट बैंकको सेयर मूल्य ९.८८ अंकले उकालो लागेको छ ।
सप्तकोशी डेपलमेन्ट बैंकको सेयर मूल्य पनि ९.८८ प्रतिशतले नै वृद्धि भएको छ । यसैगरी नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८७, नेपाल फाइनान्सको ९.७६, प्रभु लाइफको ९.७५, नेपाल हाइड्रोको ९.७५, कर्णाली डेभलपमेन्ट बैंकको ९.७४ र श्रीइन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ ।
यी हुन धेरै गुमाउने कम्पनी
बुधबार सबैभन्दा धेरै गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । विशाल बजारको सेयर मूल्य ३.९५ प्रतिशत अर्थात १२९ रुपैयाँले घटेर ३ हजार १ सय ३६ रुपैयाँमा झरेको छ । दोस्रोमा भने कामना सेवा विकास बैंकको सेयर मूल्य ३.८२ अंक अर्थात ११ रुपैयाँले घटेर २७७ रुपैयाँमा झरेको छ ।
सिभिल लघुवित्तको सेयर मूल्य ३.३८ प्रतिशत (३५ रुपैयाँ) ले घटेर १ हजार रुपैयाँमा झरेको छ भने सानिमा बैंकको डिबेञ्चर ३.३५ प्रतिशत (३६ रुपैयाँ) ले घटेर १ हजार ४० कायम भएको छ ।
यसैगरी बरुण हाइड्रोको सेयर मूल्य ३.२३ प्रतिशत, समिट लघुवित्तको २.७९, गुराँस लघुवित्तको २.५८ र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य २.४२ अंकले ओरालो लागेको छ ।
कारोबारमा नेपाल लाइफ अगाडि
धेरै सेयर कारोबार हुनेमा बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा देखिएको छ । कारोबार संख्या र कारोबार रकम दुबैका आधारमा नेपाल लाइफ पहिलो नम्बरमा देखिएको हो ।
प्रतिकित्ता २ हजार ८ सय ८५ रुपैयाँ रहेको नेपाल लाइफको सेयर ६१ करोड ४० लाख रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो नम्बरमा देखिएको प्रभु बैंकको २९ करोड ५२ रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्प्नीको २७ करोड ३६ लाख रुपैयाँ भन्दा धेरेको कारोबार भएको छ ।
यसैगरी शिखर इन्स्यारेन्सको २५ करोड १९ लाख रुपैयाँ भन्दा धेरै र एनआईशी एशिया बैंकको १८ करोड २८ लाख रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ ।
Credit: OnlineKhabar