२०८१ आश्विन ३

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडीले नतर्साए हुन्छ: वर्षमान पुन

काठमाडौं । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन अनन्तले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सने बताए ।

बिहीबार बुटवलमा  र केही दिनअघि काठमाडौंको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङकर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो । ओली सधैं प्रधानमन्त्री र थापा सधैं गृहमन्त्री रहिनरहने भन्दै पुनले आन्दोलन सफल भएर पदबाट हटेका दिन सेना र प्रहरीले नै उनीहरुलाई उठाएर हिरासतमा राख्ने दाबी गरे ।


Advertisement


केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए । सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र  र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे । ‘सेनाका बख्तरबन्द गाडी र ट्याङकर  निकालेर जनता तर्साउन खोजिएको छ । हामी सबै लडेर आएका छौं । जनता लडेर आएको छ’, पुनले भने, ‘खबरदार, केपी ओली र रामबहादुर थापा सधैं प्रधानमन्त्री र गृहमन्त्री भइराख्दैनन् ।  पदबाट झरेको भोलिपल्ट उठाएर ल्यायो भने के हुन्छ ? कसैले घिसारेर उठायो भने कसले संरक्षण गर्छ ?’ 

पुनले मुलुकमा राजतन्त्र  र सैन्य शासन नभएको र जनता धेरै शिक्षित, प्रशिक्षत र सचेत रहेकाले धम्कीसँग नडराउने बताए । राज्य शक्तिको दुरुपयोग गर्नेको हालत ज्ञानेन्द्रको जस्तै हुने भन्दै पुनले धम्की बन्द गर्न चेतावनी दिए ।  ‘ज्ञानेन्द्र देशैभरि -याली गर्दै हिंडे । लाखौं जनता महाराज भन्दै जान्थें । बुझें, सुनें भन्दै टाउको हल्लाएर हिंडेका थिए ।  आज कहाँ टाउको हल्लाउँदै हिंडेका छन् थाहा छ कि छैन ?’, पुनले भने, ‘जसले राज्यशक्तिको दुरुपयोग गर्छ त्यसको हालत ज्ञानेन्द्र शाहको जस्तै हुन्छ ।’

निरंशुक सत्ता चलाउन खोज्दा बाउबाजेको पालादेखि २ सय ४० वर्षसम्म शासन गरेको सेना, पुलिस मेरै हो, राज्य मेरै हो भनेर हिंडेका ज्ञानेन्द्रको हविगत स्मरण गर्न पुनले ओलीलाई सुझाव दिए ।

आफूहरुको आन्दोलन केपी ओलीका एकपछि अर्को असंवैधानिक कदम, निरंशुकता र स्वेच्छाचारिताविरुद्ध तथा संविधानको रक्षा र लोकतन्त्र बहालीका लागि भएको बताए । ‘म ओली सरकारमा मन्त्री थिएँ, तर, लोकतन्त्र बचाउन राजीनामा दिएर सडकमा आएको हुँ । सत्ताको लडाईं होइन, लोकतन्त्रका लागि हो ।’ 

नेता पुनले आवश्यक परे आफूहरु युवा, मजदुर, किसानको  हित तथा लोकतन्त्र र संविधानको रक्षाका लागि जेल जानसमेत तयार रहेको बताए  । ‘हामीले आत्मसमर्पण या झुक्न र भाग्न जानेका छैनौं । हिजो ज्ञानेन्द्रसँग पनि भागेको होइन, कुनै निरंकुश सत्तासँग पनि भागेको होइन’, पुनले भने, ‘केपी र रामबहआदुर थापा त अस्ति भर्खरै देखेका, के सोच्छन्, कसरी चल्छन् सबै थाहा छ । ३० वर्ष, ४० वर्षदेखि देखिराखेका मान्छेहरुले आज वरिपरि सेना, प्रहरी राखे, स्कर्टिङमा हिंडेर एक छिन महाराज भएको जस्तो कल्पना नगरे हुन्छ ।’

आन्दोलन र आमहड्ताल रहर नभएको भन्दै देशको नेतृत्वको गरिराखेको प्रधानमन्त्रीबाटै संविधान र लोकतन्त्रमाथि प्रहार भएकाले बाध्य हुनुपरेको उनको भनाइ थियो । पुनले प्रधानमन्त्री ओलीले निर्वाचनका कुरा गरे पनि असंवैधानिक रुपमा नियुक्त सदस्यहरु सहभागी भएर गरिने निर्वाचन कसरी निष्पक्ष हुनसक्छ भन्ने प्रश्न गरे ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap