२०८१ आश्विन ३

छिटो श्वेतपत्र जारी गर्छौँ : प्रचण्ड

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान अवस्थाबारे छिट्टै पार्र्टीका तर्फबाट श्वेतपत्र जारी गर्ने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् । 

‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।  


Advertisement


उनले संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य र असत्य,लोकतन्त्र र पश्चगमनबीचको लडाई भइरहेको बताए ।

 उनले संसदमा भएका दुईतिहाइ पार्टीले संसद विघटन असंवैधानिक भनेर संघर्षमा रहेको भन्दै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बनेलगत्तै पार्टीको विधि, विधान र संविधान विपरितको बाटोमा लाग्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए ।

प्रचण्डले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक पर्ने पनि बताए । 

‘अहिले हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । यसमा मलाई अहिले खुसी लागेको छ । हामी नागरिक आन्दोलनसँगै छौ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ’, प्रचण्डले लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तैउस्तै भनेर भन्ने गरिएको भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले मुलुकमा स्थायित्वका लागि गठबन्धन हुँदै पार्टी एकता गरिएपनि अहिले दुर्घटना भएको बताए ।

‘राम्रो होस् भनेर गर्यौँ । तर अहिले दुर्घटना भएपछि लडाईमा छौ । अनि कसरी उस्तैउस्तै हन्छौ ?’ प्रचण्डको प्रश्न छ । त्यस्तै उनले मुलुक सिस्टममै चल्नुपर्ने भन्दै सिस्टम बसाउन सबैले पहल गर्नुपर्ने बताए । ‘तर, यसो भन्दै गर्दा देशमा के भइरहेको छ ? संवैधानिक परिषद् बैठक, सिफारिस र नियुक्ति हेर्दा सिस्टम मिचिएको छ’, प्रचण्डको भनाइ छ । 

उनले ओलीको निरंकुशतन्त्र पराजित गर्न संयुक्त आन्दोलन जरुरी भएको भन्दै त्यसका लागि राजनीतिक पार्टीलगायत नागरिक समाजलगायतसँग छलफल भइरहेको र सम्भवत फागुन पहिलो साताबाट  संयुक्त आन्दोलन अघि बढ्न सक्ने बताए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap