२०८१ आश्विन ३

परिवर्तनलाई संस्थागत गर्नुपर्दछ: डा महत

नेपाली काँग्रेसका नेता डा रामशरण महतले भण्डै दुईतिहाईको मत प्राप्त सरकारले पार्टीको आन्तरिक कलहका कारणले संसद् विघटन गर्नु दुःखद भएको बताएका छन् ।

नेपाली काँग्रेसका शुभेच्छुक सस्थाद्वारा संयुक्त रुपमा वीरगञ्जको घण्टाघरमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनले मुलुकमा आर्थिक, सामाजिक र राजनीतिक सङ्कट सिर्जना भएको आरोप लगाए । 


Advertisement


नेता महतले अब काँग्रेस पार्टीलाई सबै नागरिकको भरोसाको केन्द्र बनाउन आवश्यक रहेको बताउँदै कांग्रेसले संविधानको रक्षा गर्दै ७० वर्षदेखिको परिवर्तनलाई समेत संस्थागत गर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाल ट्रेड युनियन कांग्रेस पर्साका अध्यक्ष छोटेलाल साहको अध्यक्षतामा सम्पन्न भएको सभामा कांग्रेस पर्सा अध्यक्ष अजय द्विवेदीले मुलुकमा बढ्दै गएको अपराध, महँगाई, भ्रष्टाचारलाई नियन्त्रण गर्न सरकार चुकेको आरोप लगाए ।


यसअघि नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले प्रतिनिधिसभा विघटनविरुद्ध आज वीरगञ्जको घण्टाघर चोकबाट निकालिएको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर पुगेर सभामा परिणत भएको थियो ।

नेपाल ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल निजामती कर्मचारी युनियन सङ्घ र नेपाल प्रेस युनियनलगायतका शुभेच्छुक संस्थाहरूको आह्वानमा नगर प्रदर्शन गरिएको थियो ।

प्रदर्शनमा सहभागीहरूले प्रतिनिधसभा पुनः स्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर र भ्रष्टाचार अन्त्य गरजस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap