२०८१ कार्तिक २

पोखराका विभिन्न शिवालयमा भक्तजनहरुको घुइँचो

पोखरा । महाशिवरात्रिको अवसरमा पोखरा र आसपास क्षेत्रमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा बिहिबार बिहानैदेखि पोखरा र आसपासका शिव मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । 

विशेषरी वैदिक सनातन हिन्दू धर्मावलम्बी आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा पुगेर श्रद्धाभक्ति पूर्वक पूजा–आराधना गर्दै भगवान् शिवलाई जल तथा गाईको दूध चढाउने गर्दछन् ।


Advertisement


आज बिहानैदेखि पोखरा र आसपासका केदारेश्वर मणि महादेव, छोरेपाटनको गुप्तेश्वर महादेव, विन्ध्यबासिनीस्थित महादेव, पुष्करेश्वर महादेव, नर्मदेश्वर महादेव, भरतपोखरीको सिलेङ्गेस्थित सिद्देश्वर महादेव, मनियलडाँडाका पशुपतिनाथ, धारपानी र मालागिरीस्थित शिव मन्दिरलगायतका तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थी जल र गाईको दूध चढाउन लामबद्ध छन् । 

फेवाताल किनारस्थित केदारेश्वर मन्दिर पछिल्लो समय भक्तजनको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । मन्दीरमा साउने सोमवार धुमधामसंग बोलबम पर्व मनाउने गरिन्छ । त्यसैगरी महाशिवरात्रिका दिनमा र अन्य चाडपर्वमा समेत मन्दिर दर्शन गर्ने दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । 

शिवरात्रि पर्वको दिन केदारेश्वर मन्दिरमा १०८ शिवलिंगमा जल चढाउन र भगवान् शिवको पूजाआराधना गर्नका लागि पोखरासहित छिमेकी जिल्लादेखि मानिसहरू दर्शन गर्नका लागि आउने गर्द छन् । 

महाशिवरात्रिको पावन अवसरमा मन्दिर व्यवस्थापन समितिले विशेष पूजाका साथै रुद्री लगायतका अनुष्ठानको आयोजना गरिएको छ । भक्तनको घुइँचो बढेपछि मन्दिरका चारैतिरबाट ढोका खोलेर मन्दिरको दर्शन गर्ने व्यवस्था मिलाइएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले बताए । 

पूजाको थालीसहित मन्दिर दर्शन गर्न आएका भक्तजन मन्दिरमा भजनकीर्तन गरी नाचगान समेत गरेका छन ।यसैगरी गोस्तेघाट क्षेत्रमा रहेको सर्वेश्वर शिवालय र सुरथेश्वर शिवालयमा पनि समितिको तर्फबाट विशेष पूजा लगाइएको छ। 

व्रतमध्ये सर्वोत्कृष्ट मानिने महाशिवरात्रिका दिन भक्तजन व्रत बस्दै भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने प्रचलन छ । आजको दिन विभिन्न सार्वजनिक चोक र मठमन्दिरमा काठका मुढा बालेर धुनी जगाई भजनकीर्तन गर्ने प्रचलन छ ।

 शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । 

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा आजको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । 

निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रिको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्रि पर्वलाई पर्वको राजा समेत भनिन्छ । शिवरात्रिको पालनाले भोग र मोक्ष दुवैको प्राप्ति हुने प्राचीन जनविश्वास छ ।

महाशिवरात्रिको अवसरमा ध्वनी सहित उखु पड्काउनका लागि पोखरामा उखु समेत ठूलो परिमाणमा भित्रिएको छ । मन्दिर छेउछाउ तथा बजारका विभिन्न स्थानमा उखु बिक्रीका लागि राखेको देख्न सकिन्छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap