२०८१ कार्तिक ४

अध्यक्ष तिमिल्सिना र इजरायलका राजदूतबीच भेट

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग नेपालका लागि इजरायलका राजदूत हनान गोडेरले आज शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज भएको भेटमा अध्यक्ष तिमिल्सिनाले कूटनीतिक सम्बन्ध स्थापनाको ६० वर्षसम्म दुई देशबीच सुमधुर र मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले दुई देशले संयुक्त राष्ट्रसङ्घ जस्ता अन्तरराष्ट्रिय मञ्चमा साझा चासोका विषयमा निकट रहेर सहकार्य गरिरहेको बताउँदै दुई देशका संसद् बीचसमेत सुमधुर सम्बन्ध रहेको जानकारी गराए ।

इजरायलले नेपाली नागरिकलाई रोजगारीको अवसर प्रदान गरेकामा धन्यवाद व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले विशेषगरी कृषि क्षेत्रमा प्रविधि भित्र्याउन तथा सीप विकासमा गरेको सहयोगका लागि आभार व्यक्त गरे । ‘इजरायलको कृषि क्षेत्रमा काम गरेर तथा कृषिसम्बन्धी विभिन्न तालीम गरेर फर्किएका नेपालीले कृषिमा सफलता हासिल गरेका छन्’ उनले भने, ‘उनीहरुले सिकेको सीप र भित्र्याएको प्रविधि अन्य नेपाली कृषकले पनि प्रयोग गर्न पाउनु खुशीको कुरा हो । यसले हाम्रो कृषि क्षेत्रमा व्यावसायिकता र प्रविधिको प्रयोग बढाएको छ ।’


Advertisement


अध्यक्ष तिमिल्सिनाले दुई पक्षबीच सम्झौता भएर हाल रोकिएको ज्येष्ठ नागरिकको स्याहार सुसारमा नेपाली कामदार जाने प्रक्रिया छिटो शुरु गराउन राजदूतमार्फत इजरायल सरकारलाई अनुरोध गरे । यसमा दूतावासले पछिल्लो समय चासो देखाएकोले छिटो नतिजा निस्कने विश्वास व्यक्त गरे । त्यसैगरी उनले नेपालमा अहिले लगानीमैत्री वातावरण भएकाले इजरायली लगानीकर्तालाई जलविद्युत्, पर्यटन र कृषि, सूचना–प्रविधि, खानीलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

भेटका क्रममा इजरायलका राजदूत गोडेरले नेपालमा दोस्रो कार्यकालका लागि आउन पाउँदा खुशी व्यक्त गरे। इजरायलमा वार्षिक ५०० नेपाली ११ महिने कृषि तालीम लागि जाने गरेको बताउँदै उनले अब छिट्टै ज्येष्ठ नागरिकको स्याहारका लागि नेपाली इजरायल जानेक्रम शुरु हुने जानकारी गराए । ‘इजरायलमा विदेशी कामदारले पनि स्वदेशी बराबरको सेवा सुविधा पाउने गरेका छन् । कामदारबीच कुनै विभेद छैन’ राजदूत गोडेरले भने, ‘नेपाली कामदालाई पनि समान अवसर दिने कुरामा इजरायल प्रतिबद्ध छ ।’

नेपालमा पर्यटकका रुपमा घुम्न आउँदा इजरायली नागरिक महिनौं बिताउने गरेको र कृषि तथा सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको उनले जानकारी गराए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap