२०८१ कार्तिक ५

राष्ट्रपति भण्डारीले लगाइन् कोरोना खोप

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्ध खोप लगाएकी छन् । सोमबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी उनले खोप लगाएकी हुन् । खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल पनि गरिन् ।

नयाँ भएको हुनाले केही शंका हुनु स्वभाविक भएपनि धेरै चरणको परीक्षण पछि मात्रै खोप आएकाले ढुक्क भएर खोप अभियानमा सहभागी हुन उनले सबैलाई आग्रह गरिन् । अग्रपंक्तिमा रहेको, जोखिममा काम गर्ने र वृद्धवृद्धालाई लगाएपछि मात्रै लगाउने सोच आफ्नो हुँदा हुदै पनि देशबाहिर जानुपर्ने भएकाले खोप लगाउन आएको पनि उनले स्पष्ट पारिन् ।


Advertisement


उनले भनिन्– ‘मचाहीँ मेरै उमेर समूह पर्खिएर बसेकी थिएँ  । मलाई एउटा मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने भो । टार्नै नसकिने भइयो । मैले खोप नलगाईकन जाँदाखेरी मिश्रित प्रतिक्रिया आउने भएकाले । म हेरिरहेकी थिएँ । सबैले लगाइसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । अग्रपंक्तिमा बसेका र जोखिममा भएकाहरुलाई नै पहिले गर्नुपर्छ  । म त त्यसैपनि एकदम ठूलो सुरक्षामै छु । बाहिर जानुपर्ने भएको हुनाले मेरो प्रतिनिधिमण्डलमा सामेल हुन सक्ने सम्भावना भएका सदस्यहरुलाई पनि लगाउनुपर्यो । म दाजुभाई दिदीबहिनीहरुलाई पूर्ण विश्वस्त भएर लगाउन अपिल गर्छु  । निर्धक्क भएर लगाउँदा हुन्छ । नयाँ भएको हुनाले अलि अलि शंका हुनु स्वभाविकै हो । तर धेरै चरणको परीक्षण भएको हुनाले ढुक्क हुन अनुरोध गर्दछु ।’

उनले नेपालमा अन्यत्र भन्दा कोभिडको असर न्यून परेको भन्दै त्यस किसिमको सफलता प्राप्त गर्न सकेकोमा त्यसको जस नेपाल सरकार, चिकित्सक, जनप्रतिनिधि, अग्रपंक्तिमा खटिने सबै भोलिन्टियर र सामाजिक संघ–संस्थाहरुलाई दिनुपर्ने र मुक्त कण्ठले प्रशंशा गर्नुपर्ने बताइन् । राष्ट्रपति भण्डारी आगामी ९ गते बंगलादेश जाँदैछिन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap