२०८१ मंसिर ३

‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँबाट ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि लगाएको आरोप छ– ‘लिखत सम्बन्धी कसुर ।’  नक्कली भनिएका चिकित्सकहरुले प्रवेशका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए । 

ब्यूरोको टोलीले त्यसरी मार्कसिट सच्याउने मध्येका धेरैलाई कार्यरत अस्पतालबाट नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद शाह र काठमाडौंको चावहिलस्थित दीर्घायु गुरु अस्पतालमा कार्यरत मोहम्मद साहिद राजा छन् ।  


Advertisement


सप्तरी घर भएका अखिलेश कुमारदेव विराटनगरस्थित बरगाछीबाट पक्राउ परेका हुन् । महोत्तरी घर भएकी पल्लवी सिंहलाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको छ । ललितपुरको सानेपा घर भएका फराज हुसेन खाँलाई ललितपुरबाट पक्राउ गरिएको ब्युरोका डिआइजी सहकुल थापाले बताए । 

पल्लवी किस्ट मेडिकल कलेजमा एमबीबीएस पढ्दै छिन् । अन्य ६ जनाले बंगलादेश र चिनबाट एमबीबीएसको पढाई पुरा गरेका छन् ।  एसएलसीको सर्टिफिकेटमा नम्बर तलमाथि गरेर उनीहरुले एमबीबीएस अध्ययनको लागी नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृति लिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । 

‘आरोपीको वास्तविक सर्टिफिकेट र काउन्सिलमा पेश गरेको एसएलसीको सर्टिफिकेट फरक देखिएको छ’  डिआइजी थापाले भने– ‘हामी थप अनुसन्धान गर्दै छौं ।’  मार्कसिटमा विवरणहरू सच्याइएको आरोपमा ब्यूरोले उनीहरुलाई लिखित सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । व्यक्तिगत लाभको लागि सरकारले जारी गर्ने मार्कसिट किर्ते गरेको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर ब्यूरोले अनुसन्धान गरिरहेको छ ।

आरोपीलाई डाक्टर पढ्नका लागी बंगलादेश र चीन पठाउने कन्सल्टेन्सी सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । बागबजारस्थित ज्योती दिप इन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक अरुण चौधरीलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap