२०८१ मंसिर ५

काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी

काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ।

जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो।

यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्।


Advertisement


‘सो छलफलबाट हामी निषेधाज्ञाको समय तोकेर आदेश जारी गर्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तीमा पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने डिसिसिएमसीको निष्कर्ष छ।’

कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको निष्कर्ष रहेको पराजुलीले बताए। डिसिसिएमसीको बैठक आइतबार बसेको थियो।

सोमबार पनि तीन जिल्ला प्रमुखबिच फोनमार्फत अनौपचारिक रूपमा निषेधाज्ञाबारे छलफल भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डिराज न्यौपानेले जानकारी दिए।

त्यस्तै, भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाराईले दुई हप्ताका लागि निषेधाज्ञा लम्ब्याउने तयारी रहेको बताए।

काठमाडौं उपत्यकामा दोस्रो साताको निषेधाज्ञा कार्यान्वयनमा छ।

बुधबार राति १२ बजे सो निषेधाज्ञाको समय समाप्त हुनेछ। त्यसअघि नै थप पन्ध्र दिनको निषेधाज्ञा आदेश आउने सम्बद्ध प्रजिअहरूले बताएका छन्।  

Copy link
Powered by Social Snap